पलको आ बाट आमा २ सुरु

काठमाडौँ । अभिनेत्री मलिका महत अनुबन्ध भएसँगै फिल्म ‘आ बाट आमा २’ को छायांकन सुरु भएको छ। निर्माण टिमले सोमबार बिहान मकवानपुरको चित्लाङबाट फिल्मको छायांकन सुरु गरेको हो। यस फिल्मका लागि निर्माण टिमले आइतबार मात्रै मलिकालाई मुख्य अभिनेत्रीका रूपमा अनुबन्ध गरेको थियो।

फिल्मको छायांकन चित्लाङ, काठमाडौँ र बेलायतको लन्डनमा गरिने निर्देशक चन्द्र पन्तले बताएका छन्। उनका अनुसार चित्लाङ र काठमाडौँको तालिका सकिएपछि बाँकी दृश्य खिच्न टिम लन्डन प्रस्थान गर्नेछ।

एक महिनाको कार्यतालिका राखेर फिल्मको छायांकन थालिएको निर्देशक पन्तको भनाइ छ। फिल्ममा पल शाह र मलिका महतका साथै रिश्ता गुरुङ, निकिता आचार्य, विपना थापा, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट र नरेन खड्का लगायतको मुख्य भूमिका रहनेछ।

फिल्मको कथा तथा पटकथा निर्देशक पन्त स्वयंले लेखेका हुन्। आगामी दसैँको अवसर पारेर असोज ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रलाई नेपालभर आरआर फिल्म्सले वितरण गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।