हलमा सोलो प्रवासी जीवन

काठमाडौं । अभिनेता राजेश हमाल अभिनित फिल्म ‘प्रवासी जीवन’ आज शुक्रबारबाट सोलो प्रदर्शनमा आएको छ । नेपालबाट उज्जवल भविष्य र स्थायित्वका लागि अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नु पर्ने सङ्घर्षसहितको प्रवासी जीवनको कथा बोकेको उक्त फिल्ममा श्याम क्षेत्री र राम अधिकारीको संयुक्त निर्देशन छ ।

निर्देशक क्षेत्रीले प्रवासीहरूको सुख दुःख, आरोह अवरोह र चुनौतीहरूलाई मुख्य विषयवस्तु बनाएर फिल्म तयार गरिएको बताए । उनले मानसिक स्वास्थ्य समस्या र समाधानको विषयलाई केन्द्रीत गरेर फिल्म तयार परेकोले प्रवासीको जीवनलाई नजिकबाट बुझ्न फिल्म फलदायी हुने बताए । फिल्ममा राजेश हमाल, सरिता लामिछाने, बुद्धी तामाङ, महादेव अधिकारी, एञ्जेला बस्नेत, गगन सुबेदि, लोकेश भित्रीकोटी, दिव्या न्यौपाने, अबिगेल लुहार, प्रासु गिरि, शिखा अधिकारीसँगै स्वयम् निर्देशक क्षेत्रीले महत्वपूर्ण भूमिकामा अभिनय गरेका छन् ।

‘सिजल एण्ड सिस्टर फाउन्डेसन फर नेपाल’ को सहकार्यसमेत रहेको उक्त फिल्ममा अमेरिकाको रमणीय दृश्य देखाइएका छन् । फिल्म श्याम क्षेत्री प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेको छ । फिल्मका निर्माता रविन आचार्य हुन् ।