काठमाडौं । जेनजी आन्दोलनको विषय समेटिएको गीत ‘म नेपाली हुँ, मेरो देश नेपाल’ सार्वजनिक भएको छ । सौन्दर्यविद् सुष्मा महराको शब्द तथा अभिनय रहेको देशभक्तिपूर्ण गीतमा सत्यराज आचार्यको स्वर, पुरुषोत्तम न्यौपानेको संगीत र दिक्षित पौडेलको संगीत संयोजन छ ।
राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा जेनजी आन्दोलनका तीन सहिद परिवार उदयपुरकी अम्बिका विश्वकर्मा (जसले बानेश्वर संसद भवन अगाडि श्रीमान् गुमाइन), कीर्तिपुरका विष्णुबहादुर तामाङ (शहीद बुद्धिबहादुर तामाङका बुबा) र पार्वती अधिकारी(जसले आन्दोलनमा आफ्ना छोरा गुमाइन्)को उपस्थितिमा गीत सार्वजनिक गरिएको हो ।
गीतले राष्ट्रियता, सामाजिक यथार्थ र देशको वर्तमान अवस्थालाई समेटेको छ । शक्तिप्रज्वल घिमिरेको निर्देशनमा तयार पारिएको भिडियोले देशको राजनीतिक र सामाजिक परिवेशलाई ऐना देखाउने प्रयास गरेको छ ।
भिडियोमा एकातिर ‘जेनजी’ पुस्ता सडकमा अधिकारका लागि आन्दोलन गरिरहेका र रगत बगाइरहेका मार्मिक दृश्यहरू छन् भने, अर्कोतिर सत्ताको बागडोर सम्हालेका नेताहरू बन्द कोठामा कुर्सीको खेलमा व्यस्त रहेको देखाइएको छ । विशेष गरी आन्दोलनको क्रममा सडकमा छाडिएको रगत लतपतिएको जुत्तालाई भिडियोमा प्रतिकका रूपमा प्रयोग गरिएको छ । भिडियोमा गीतकार महरा जेनजी सहिदको आमाको रुपमा प्रस्तुत भएकी छन् ।
भिडियोका परिकल्पनाकार उज्वलजंग शाह हुन् । गीतको भिडियोमा राजेश घिमिरेको छायांकन र सतिश श्रेष्ठको सम्पादन छ ।




