काठमाडौं । फिल्म ‘पाँच पाण्डव’ को यतिबेला पूर्वी नेपालको झापामा धमाधम छायांकन भइरहेको छ । छायांकन सुरु भएको दुई साता बितिसक्दा निर्माण पक्षले फिल्मको कलाकार टोलीमा थप दुई पात्रलाई भित्र्याएको छ । काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस फिल्ममा अभिनेता प्रशान्त ताम्राकार र कन्टेन्ट क्रिएटर तथा मोडल इभा गिरीलाई भित्र्याएको हो ।
छायांकनको १४ औं दिनमा उनीहरू सेटमा जोडिएसँगै फिल्मको क्यानभास अझ फराकिलो बनेको निर्देशक वसन्त निरौलाले जानकारी दिए । गत चैत २ गते नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टाबाट शुभमुहूर्त गर्दै छायांकन थालिएको हो ।
फिल्मको भूमिकामा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सागर लम्साल (बले) रहेका छन् । यी पाँच पात्रहरूलाई केन्द्रमा राखेर बुनिएको कथामा महिला मुख्य पात्रका रूपमा दीपाश्री निरौला र जनी गुरुङ देखिनेछन् । फिल्का प्रस्तुतकर्ता नविन श्रेष्ठ हुन् । फिल्मको निर्माता काली रानी श्रेष्ठ हुन् ।




