हङकङमा प्रदर्शन हुँदै नाक्छोङ

काठमाडौं । फिल्म ‘नाक्छोङ’ (बिजुवा) हङकङमा प्रदर्शन हुने भएको छ । किरात राई समुदायको मौलिक संस्कृति र परम्परागत मूल्य मान्यतामा आधारित यो फिल्म अप्रिल ५ मा हङकङमा प्रदर्शन हुने भएको हो । किरात राई यायोक्खा हङकङको मुख्य आयोजना र यस संस्थासँग आबद्ध ८ वटा भाषिक संस्थाहरूको सह–आयोजनामा फिल्म देखाइन लागिएको हो ।

वर्तमान बदलिँदो परिस्थितिमा किराती युवापुस्ता आफ्नो सांस्कृतिक जराबाट विचलित हुँदै गएको यथार्थलाई फिल्मले चित्रण गरेको छ । फिल्मले विशेष गरी किराती समुदायमा ‘नाक्छोङ’ (बिजुवा) को महत्व र यसको अभावले समुदायको रीतिरिवाज, कुलपितृ, विवाह र मरणशरणमा पार्ने प्रभावबारे सचेतना जगाउने उद्देश्य राखेको छ ।

शो जेडी मल, नाथम रोड, जोर्डन, हङकङमा आयोजना हुन लागेको निर्माता ज्योतिराज राईले बताए । फिल्मका निर्देशक किरण राई हुन् । उनले यसअघि ‘लुंगा’ र ‘जिउपंचौ’ जस्ता फिल्महरू निर्देशन गरिसकेका छन् । फिल्मको लेखन पनि किरणकै रहेको छ । निर्माता राईका अनुसार फिल्म निर्माणको उद्देश्य किराती परम्परा जोगाएर भावी पुस्तामा हस्तान्तरण गर्नु हो ।

फिल्ममा भुवन सिंह राई, यासेली योङ्हाङ, सुष्मा सुब्बा गुरुङ, हेम दिलुङ्छा राई, उदय सुब्बा कुरुङबाङ, सारा राई, ताया हाङ राई, अनुशा राई, सरोज राई, उत्तम राईलगायतका कलाकारहरूको अभिनय छ । बाबु श्रेष्ठको छायांकन रहेको फिल्ममा राजन मुकारुङ र विष्णु किरातीका शब्द तथा दिनेशकाजी वान्तवा र अनिल कोई राईको संगीत छ । फिल्मका निर्माता राईले यसअघि ‘त्रिवेणी’, ‘पापी मान्छे’, ‘वान वे’ जस्ता फिल्म र टिभी सिरिजहरू निर्माण गरिसकेका छन् ।

हङकङ प्रदर्शनका लागि दिलिप राईलाई सल्लाहकार चयन गरिएको छ भने राम ली थुलुङ कार्यक्रम संयोजक रहेका छन् । गजेन्द्र राई, भुपाल चाम्लिङ, धिरज बान्तवा, दीपक केशर साम्पाङ, दिनेश थुलुङ, प्रकाश कोयी, लोकराज बायुङ, इमानशेर राईलगायतका पदाधिकारीहरू कार्यक्रम सफल बनाउन लागी परिरहेका छन् । नेपालमा भने यसको सार्वजनिक प्रदर्शन मिति तय भएको छैन ।