निफको तयारी पूरा

काठमाडौं । आगामी चैत १९ देखि २३ सम्म हुन लागेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को नवौं संस्करणको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बताएको छ ।

‘विश्वका कथाहरूको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलिचत्र महोत्सव’ भन्ने नाराका साथ फ्युचर फर्वाड थिममा आयोजना हुन लागेको यस महोत्सवको प्राविधिक र व्यवस्थापकीय पक्षलाई आयोजक समितिले अन्तिम रूप दिएको हो ।

निफका अध्यक्ष केपी पाठक भन्छन्, ‘प्रि–इभेन्ट सकिए लगत्तै हामी मेन इभनेन्ट प्रवेश गरेका हौं । विदेशी अतिथिहरू आउने क्रम सुरु भइसक्यो ।’ निफको उद्घाटन समारोहका विशेष अतिथि बलिउडका प्रसिद्ध निर्देशक रमेश सिप्पी भने १८ गते साँझ ६ बजे नेपाल आइपुग्ने उनले बताए । उनीसहित कलाकार किरण जुनेजा र नेपाली मुलका भारतीय चलचित्र निर्माता निलकण्ठ रेग्मी पनि निफमा सहभागी हुनेछन् ।

चैत १९ गते सिभिल मलमा हुने उद्घाटन नेपाल सरकारकी सञ्चार सचिव लक्ष्मीकुमारी बस्नेतले गर्नेछिन् । निफको दोस्रो दिन चैत २० गते दिउँसो ३ बजे पर्यटन बोर्डमा निर्देशक सिप्पी र महानायक राजेश हमालबीच ‘सिनेमा संवादः रमेश सिप्पी र राजेश हमालसँग’ शीर्षकको संवाद कार्यक्रम तय भएको छ ।

त्यस्तै, युवा मेकरहरुलाई लक्षित गरी निफमा पाँच दिने एआई फिल्म वर्कसप पनि राखिएको छ । निफ अविधभर यो जारी रहनेछ । यस वर्कसपमा नेपाली विज्ञहरूले एआई(डिजिटल कन्टेन्टबारे कानुनी जटिलता र प्रतिलिपी अधिकारबारे पनि वर्कसप दिनेछन् ।

त्यस्तै, निर्माताका खोजीमा रहेका लेखकहरूलाई उनीहरूको पहुँचमा पुर्‍याउने उद्देश्यले ‘फिचर पिच’ कार्यक्रम पनि राखिएको छ । जहाँ लेखकहरूले निर्मातालाई आफ्नो कथा सुनाउन पानेछन् ।

यो संस्करणमा ४० देशका ८८ फिल्मले प्रतिस्पर्धामा सहभागी भएका छन् । ६ वटा चिनियाँ र ४ वटा रुसी प्रतिस्पर्धाबाहिर रहेर विशेष प्रदर्शन गरिने आयोजकले बताएको छ । रसियन हाउसमा रसियन फिल्म डेज आयोजना गरिनेछ । अन्य दिन पनि यस स्थानमा प्रदर्शन हुने फिल्महरु निशुल्क हेर्न पाइनेछ ।

यसपटक निफमा सिजाङ प्यानोरमा पनि आयोजना गरिएको छ । जस अन्तर्गत ६ वटा चिनियाँ सिनेमा र वृतिचित्र प्रदर्शन गरिनेछ । पर्यटन बोर्ड र छायाँ सेन्टरमा यी फिल्महरू निशुल्क हेर्न पाइनेछ । प्रतिस्पर्धमा रहेका मध्येका फिल्महरु सिभिल मल र छाया सेन्टरमा भने सशुल्क प्रदर्शन हुनेछ ।

निफ अन्तर्गत १० वटा अन्तर्क्रियात्मक कार्यकम राखिएको छ । जसमा विभिन्न देशका मेकरहरुले ‌आफ्नो अनुभव सेयर गर्नेछन् ।