काठमाडौं। निर्देशक रन्धिर श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘कुम्भ’को पहिलो गीत ‘स्वर्गकी परी’ सार्वजनिक भएको छ। आगामी जेठ १५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको यस फिल्मको रोमान्टिक नम्बर सार्वजनिक गरिएको हो।
सार्वजनिक गीतमा नवनायक अशोक आर्यन र नवनायिका सृष्टि खड्कालाई रोमान्टिक भावमा देखाइएको छ । गीतमा अन्जु पन्त र अनुप तिवारीको स्वर रहेको छ भने शब्द रचना रन्धिर श्रेष्ठकै रहेको छ। गीतमा संगीत अनुप तिवारीको रहेको छ।
गीत सार्वजनिक कार्यक्रममा चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले गीत रमणीय लोकेसनमा छायांकन गरिएको र निर्देशक रन्धिर श्रेष्ठ कुशल प्राविधिक भएकाले फिल्म उत्कृष्ट बनेको तथा दर्शकलाई मन पर्ने विश्वास व्यक्त गरे। निर्देशक रणधीर श्रेष्ठले फिल्म टेक्निकलरुपमा राम्रो बनेको र एक्सनमा केहि नयाँ प्रयोग गरिएको बताए। उनले साउथ इन्डियन फिल्म ‘कान्तारा’ मा काम गरेका द्वन्द कलाकारहरुलाई आफ्नो फिल्ममा काम गराएको बताए। नव नायक अशोक आर्यनले आफ्नो पहिलो फिल्म भए पनि आफुले सक्दो मेहनत गरेको बताए।
ए रस प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म नेपाली र हिन्दी दुवै भाषामा प्रदर्शन गरिने जनाइएको छ। फिल्ममा दक्षिण भारतीय कलाकार सुरेन्द्र ठाकुरको समेत अभिनय रहेको छ।
फिल्ममा अशोक आर्यन, सुनिल थापा, सुशील पोखरेल, रोहित रुम्बा, अफ्सना थापा र सृष्टि खड्काको अभिनय छ । फिल्मको छायांकन तथा सम्पादन स्वयं निर्देशक श्रेष्ठले गरेका हुन्। द्वन्द्व निर्देशन संजय थापाले गरेका छन् भने निर्माणमा रन्धिर श्रेष्ठ र राजेश साह संलग्न छन्। फिल्मका कार्यकारी निर्माता ईश्वर बल्लभ उप्रेती हुन्।
चलचित्रको गीत आरएए डिजिटल नेपालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।




