गुरु आमाको सम्झना साचौंलामा कलाकारको छमछमी

काठमाडौं । आगामी बैशाख २५ गतेबाट रिलिज हुने फिल्म ‘गुरु आमा’को पहिलो गीत ‘सम्झना साचौंला’ सार्वजनिक भएको छ । गीतमा ममता गुरुङ र मोहन नेपालीको स्वर, प्रेम सोनी सुनारको शब्द तथा बीबी अनुरागीको संगीत छ ।

एकेन्द्र सारा शंकरको कोरियोग्राफीमा बनेको गीतको भिडियोमा फिल्मका कलाकारहरू मिथिला शर्मा, पूजा शर्मा, बुद्धि तामाङ, प्रेम सोनी सुनारलगायतको अभिनय छ । विद्यालयको वनभोजमा शिक्षकशिक्षिका र विद्यार्थीहरूबीचको रमाइलोपनलाई गीतमा देखाइएको छ ।

प्रेम सोनी सुनारको कथा तथा निर्देशन रहेको यस फिल्ममा मिथिला शर्मा, गौरी मल्ल, बुद्धि तामाङ, सुशील पोखरेल, ध्रुव कोइराला, उत्तम के।सी, राधिका हमाल लगायतको अभिनय देख्न सकिनेछ । सीता विश्वकर्मा र प्रेम सोनी सुनार निर्माता रहेको फिल्ममा सुशील पंगेनीको लेखन, शेरबहादुर तामाङ र मिराज अर्यालको छायांकन तथा मित्र देव गुरुङको सम्पादन छ ।