फिल्म बनाउँदै ओबामा जोडी

लसएञ्जल्स(एजेन्सी) । अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामा र उनकी पत्नी मिशेल ओबामाले नेटफ्लिक्ससँग टेलिभिजन शो र फिल्म निर्माणका लागि सम्झौता गरेका छन् । नेटफ्लिक्सले सोमबार सम्झौता भएको घोषणा गरेको हो ।

बहुवर्षको सम्झौता अनुसार ओबामा र उनकी पत्नी मिशेल स्क्रिप्ट र गैरस्क्रिप्ट सिरिजमा काम गर्नेछन् । उनीहरुले वृत्तचित्र र फिचर फिल्म पनि निर्माण गर्नेछन् । ओबामाले यो सम्झौता प्रति आफू खुशी भएको बताएका छन् ।

‘सार्वजनिक सेवाका लागि यो हाम्रो लागि एउटा खुशीको अवसर हो । यो काममार्फत हामी धेरै मानिससँग भेट गर्ने अवसर पाउनेछौं,’उनले भनेका छन्,‘उनीहरुले जिन्दगीका धेरै कुरा देखेका छन् । जसको कथा नै अलग अलग छ । हामी उनीहरुको कथा धेरै मानिससँग पु¥याउन सहयोग गर्नेछौं । ’

नेटफ्लिक्स विश्वको सबैभन्दा ठूलो अनलाइन स्ट्रीमिङ प्लेटफार्म हो । यसको विश्वभरी १ सय २५ मिलियन सब्सक्राइबर छ ।