काठमाडौंमा यलम्बर संगीत प्रतियोगिता

काठमाडौं । किरात राई कलाकार संघले आगामी जेठ २६ गते राजधानीमा यलम्बर संगीत प्रतियोगिताको चौथो संस्करण आयोजन ागर्ने भएको छ । अन्तिम स्पर्धामा नयाँ किराती कलाकारका लागि लक्षित गर्दै टीसर्ट पनि सार्वजनिक गरेको छ ।

आइतबार ललितपुरको सातदोबाटोस्थित सुम्निमा कल्चर एकेडेमीमा आयोजित पत्रकार सम्मेलनमा टिसर्ट सार्वजनिक गर्दै अन्तिम चरणको छनोट हुन लागेको संघका अध्यक्ष जनक राईले जानकारी दिए । विभिन्न क्षेत्रमा रहेको किरात राई समुदायका नया प्रतिभालाई अवसर प्रदान गर्न प्रतियोगिता सञ्चालन गर्न लागिएको उनले बताए । अन्तिम प्रतिस्पर्धाका लागि ९ जना युवापुस्ताका गायकगायिकालाई छनौट गरिएको छ ।

जेठ ६ गते बाट पहिलो चरणको छनौट हुँदै हाल अन्तिम स्पर्धाको लागि नौजनाको सहभागिता रहेको प्रतियोगिताबाट विजयी हुनेहरुलाई पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः २५ हजार, ७ हजार ७ सय ७७ र ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार समेत दिइनेछ । उत्कृष्ट दर्शक छनोटबाट छानिएको एक जनालाई ३ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार दिइने छ ।

एकेडेमीमा आयोजित पत्रकार सम्मेलनमा संघका पूर्व अध्यक्ष तथा गायिका पार्वती राई, किरात राई पत्रकार संघका अध्यक्ष भिम राई लगायतको उपस्थिति थियो । यसअघि प्रतियोगिताको भाग १, भाग २ र भाग ३ सम्पन्न गरिसकेको छ ।  सो अवसरमा यलम्बर संगीत प्रतियोगिताको लोगो अंकित टिसर्ट समेत सार्वजनिक गरिएको थियो । प्रतियोगीहरुलाई वितरण गरिएको उक्त टिसर्ट सुम्निमा कलेक्सनबाट प्रायोजन गरिएको हो ।