आ बाट आमा २ मा मलिका

काठमाडौं । चन्द्र पन्तको निर्देशनमा निर्माण हुने फिल्म ‘आ बाट आमा २’को अभिनेत्रीका रुपमा मलिका महत अनुबन्धित भएकी छन्। निर्माण टिमले उनलाई फिल्मको मुख्य भुमिकामा अनुबन्धित गरेको हो। मलिका यस फिल्ममा अनुबन्धभएसँगै तीनवटै हिरोइन फाइनल भएका हुन्। यसअघि अभिनेत्रीका रुपमा रिश्ता गुरूङ, निकिता आचार्य अनुबन्ध भइसकेका छन्। आइतबार निर्देशक तथा निर्माता चन्द्र पन्तले उनलाई फिल्मका लागि अनुबन्ध गरेका हुन्।

फिल्ममा पल शाह, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित बिष्ट, नरेन खड्का अनुबन्धित भइसकेका छन्।

यस फिल्मको कथा तथा पटकथा निर्देशक पन्त स्वयंमले लेखेका हुन्। यो फिल्म आगामी दसैंमा अर्थात अशोज ३० गतेबाट प्रदर्शनमा आउने छ। यो फिल्मको घोषणा हुँदै गर्दा केहि देशमा प्रदर्शन अधिकार समेत बिक्री भइसकेको छ। अमेरिका र क्यानडामा यो फिल्म सोल्ट आउट भइसकेको निर्माण पक्षले जानकारी दिएको छ। त्यहाँ प्रदर्शनका लागि वितरक डोको फिल्म्सले महँगो रकममा खरिद गरेको छ।

नेपालमा यस फिल्मको वितरण भने आरआर फिल्मस्ले गर्दैछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ। आर्या इन्टरटेन्टमेन्ट प्रालीको व्यानरमा निर्माण हुने यस फिल्मको प्रोडक्सन म्यानेजर करणसिंह रसाली रहेका छन्। गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘आ बाट आमा’को यो सिक्वेल हो। उक्त फिल्मले अघिल्लो वर्ष झण्डै १४ करोडको बक्स अफिस कलेक्सन गरेको थियो। उक्त फिल्मको कथालाई नै निर्देशक पन्तले निरन्तता दिदै सिक्वेल निर्माणको घोषणा गरेका हुन्।