मित्रतामा देखियो माधव–सन्तोषको मित्रता

काठमाडौं । गीतकार माधव निर्दोष र संगीतकार सन्तोष श्रेष्ठको संयुक्त एल्बम ‘मित्रता’ सार्वजनिक भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा वरिष्ठ संगीतकार शम्भूजित बास्कोटाले सोमबार ‘मित्रता’को घुम्टो उघारे ।संगीत कला पत्रकार संघको आयोजनामा भएको कार्यक्रममा गीतकार माधव निर्दोषको बारेमा तयार पारिएको डकुमेन्ट्री देखाइएको थियो ।

गीतकार निर्दोषले आफूलाई संगीतकार बुलु मुकारुङले नै गीति लेखन राम्रो छ भन्दै गीतकार बन्ने बाटो देखाएको बताए । संगीतकार सन्तोषले मितेरी एल्बमदेखिको सांगीतिक साइनोले आत्मीयता र मित्रतासम्म एकल संगीत गर्ने अवसर मिलेको बताएका थिए । चलचित्र पत्रकार शान्तिप्रियले मितेरी, आत्मीयता हुँदै मित्रता आइपुग्दा अझै आत्मीयतामा परिणत होस् भन्ने शुभकामना व्यक्त गर्दै गीतकारले धानेको संगीत उद्योगका रुपमा पाएको बताएका थिए ।

संगीतज्ञ बुलु मुकारुङले गीतिकथाको रुपमा लेखन सुरु गर्दै गीतकारसम्म आइपुग्दा एउटा इतिहास बनेको बताएका थिए । गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देवकोटाले नेपाली कला संस्कृतिको समृद्धिमा लागिपरेका गीतकार माधव निर्दोष र संगीतकार सन्तोष श्रेष्ठको मित्रतालाई शुभकामना दिँदै स्रष्टा सदैव अमर रहने भूतपूर्व नहुने बताए ।

प्रतिष्ठानका उपकुलपति शम्भूजित बास्कोटाले कभर सङ गाउनेको प्रवृत्तिलाई व्यवस्थापन गर्नुपर्ने बताउँदै रोयल्टी व्यवस्थापनलाई पनि सशक्त ढंगले अगाडि बढाउनु पर्ने बताए । गीतकार माधव निर्दोष १२ वर्ष अगाडि भेट्दादेखि अहिलेसम्म निरन्तर गीतसंगीत, साहित्य, पत्रकारिता जस्तो क्षेत्रमा क्रियाशील रहेको देख्दा खुशी लागेको बताए ।  एल्बमभित्र मुटुविना, आऊ नजिकै आऊ, तिमीसँग छुटेपछि, तिम्रो सधैं जित हुँदा, जाऊ छोडेर जाऊ जस्ता गीतहरु समावेश रहेका छन् ।