आगनैभरि हिऊँ ल्याउँदै नेपथ्य

काठमाडौं । स्थापनाको २५ औं वर्ष मनाइरहेको नेपथ्यले म्यूजिक भिडियो रिलिज गर्ने क्रममा ‘आँगनैभरि हिउँ नै झरे’ को भिडियो बाहिर ल्याउने भएको छ । समूहको सबैभन्दा पुरानो सम्झनालाई भिडियोको नयाँ आवरणमा प्रस्तुत गर्नेछ । नेपथ्यको सांगीतिक जीवनमा सबैभन्दापहिले रेकर्ड भएको मात्र होइन, उसको पहिलो एल्बमकै पहिलो गीतका रुपमा समेत प्रस्तुत भएको हिसाबले यसलाई ब्याण्डकै पहिलो आधिकारिक गीत मानिँदै आएको छ ।

उक्त एल्बम सन् १९९३ को अप्रिल एक तारिखमा रिलिज भएको थियो । त्यसै दिनलाई नेपथ्यको स्थापना दिवस पनि मानिएको छ । नब्बेको दसकको प्रारम्भमा पोखराका तीन दिपकजङ राणा, भीम पुन र अमृत गुरुङले नेपथ्यको जग बसालेपछि रविन श्रेष्ठ, सुरेश पुन र बुद्धि गुरुङ नेपथ्यसँग जोडिए । त्यो प्रयासकै प्रतिफलमा नेपथ्यको पहिलो एल्बम जन्मिएको थियो ।

‘यो म्यूजिक भिडियो २५ वर्ष लामो यात्रामा ब्याण्डलाई योगदान दिने तमाम सदस्यहरु प्रति आभार प्रकट गर्ने माध्यमपनि बनेको छ,’ नेपथ्यलाई प्रवद्र्धन गर्दैआएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘भिडियोमा उनीहरु सबैलाई सम्झने कोशिस गरिएको छ । बुटवलमा २०७३ फागुन १४ मा नेपथ्यको कन्सर्टका बेला गाइएको आवाज नै यसमा प्रयोग गरिएको छ । त्यसैगरि दृश्यहरु पनि बुटवलको कालिका स्कुल, काठमाडौंको टुँडिखेल र पोखराको रंगशालामा कन्सर्ट गर्दाका क्षणबाट लिइएको हो ।