प्रवासी जीवन ट्रेलरमा भुटानी शरणार्थीको पीडा

काठमाडौं । आगामी फागुन १५ गते रिलिज हुने फिल्म ‘प्रवासी जीवन’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अमेरिका पुगेका भुटानी शरणार्थीले भोग्ने पीडालाई देखाइएको छ । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा फिल्मका अभिनेता राजेश हमालले फिल्ममा जोडिनुको कारण विषयवस्तु र त्यसले दिने सन्देश रहेको बताए । ‘म अमेरिका गएको समायमा यसका निर्देशक तथा अभिनेता श्यामजी सँग भेट भयो । उहाँको अभिनय प्रतिको लगावले गर्दा म अभिनय गर्न तयार भएँ । यसमा देखिएको विषयले कहीं कतै प्रवासमा रहेका नेपालीको विषयलाई सम्बोधन गरेको छ’, उनले भने ।

फिल्ममा श्याम क्षेत्री र राम अधिकारीको संयुक्त निर्देशन छ । नेपालबाट आफ्नो उज्जवल भविष्य र स्थायित्वका लागि अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नु पर्ने सङ्घर्षसहितको प्रवासी जीवनको कथालाई फिल्ममा देखाइने निर्देशक क्षेत्रीले बताए । उनले मानसिक स्वास्थ्य समस्या र समाधानको विषयलाई केन्द्रीत गरेर फिल्म तयार परेकोले प्रवासीको जीवनलाई नजिकबाट बुझ्न फिल्म फलदायी हुने बताए ।

फिल्ममा राजेश हमाल, सरिता लामिछाने, बुद्धी तामाङ, महादेव त्रिपाठी, एञ्जेला बस्नेत, गगन सुबेदि, लोकेश भित्रीकोटी, दिव्या न्यौपाने, अबिगेल लुहार, प्रासु गिरि, शिखा अधिकारीसँगै स्वयम् निर्देशक क्षेत्रीको अभिनय छ ।

‘सिजल एण्ड सिस्टर फाउन्डेसन फर नेपाल’ को सहकार्यसमेत रहेको उक्त फिल्म अमेरिकाको रमणीय दृश्यमा छायांकन गरिएको छ । फिल्मलाई श्याम क्षेत्री प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेको छ । फिल्मका निर्माता रविन आचार्य हुन् ।

फिल्मको कथा, पटकथा तथा संवाद स्वयम् निर्देशक क्षेत्रीले नै तयार गरेका हुन् ।यसमा अमृत बिसुवाले छायाङ्कन, राम अधिकारीले सम्पादन, सुवास सिन्चुरीले पाश्र्व सङ्गीत, देवी खतिवडाले शृङ्गार, राज शङ्कर र प्रतिक सार्कीले ध्वनी मुद्रण, नवीन कार्कीले सङ्गीत सिर्जना, मुख्य सहायक निर्देशन लक्ष्मण अधिकारीले गरेका छन् भने प्रमोद खरेल र प्रताप दास जस्ता गायकले स्वर दिएका छन् । फिल्म आरआर फिल्म्सले वितरण गर्नेछ ।