रहेनन् राते काइँला

काठमाडौँ । नेपाली फिल्म वृत्तमा ‘राते काइँला’का रुपमा परिचित कलाकार सुनिल थापाको हृदयघातका कारण निधन भएको छ । शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको थापा निकट कलाकार विल्सनविक्रम राईले जनाएका छन् ।

विल्सनका अनुसार छोराहरु विदेशमा रहेकाले उनीहरु आउने तयारीमा छन् । थापाका नजिकका आफन्त लुभुमा रहेकाले उनीहरु पनि अस्पतालमा आउँदैछन् । अपार्टमेन्टमै बेहोस भएका थापालाई शनिबार बिहान ५ः३० मा नर्भिक अस्पताल ल्याइएको थियो ।

अभिनेता थापा शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थिए । बलिउड फिल्म ‘एक दुजे के लिए’बाट अभिनय यात्रा सुरु गरेका थापाले सयौंको संख्यामा नेपाली फिल्ममा अभिनय गरेका थिए । उनी विशेषत फिल्ममा भिलेन चरित्रमा दर्शकमाझ लोकप्रिय थिए ।

थापाले सन् १९७४ मा भारतको मुम्बईबाट मोडलिङ करियर सुरु गरेका थिए । फिल्म ‘मसाल’बाट नेपाली फिल्ममा पाइला चालेका सुनिल फिल्म ‘चिनो’को ‘राते काइँला’ चरित्रबाट सर्वाधिक चर्चित बने । उनले भोजपुरी फिल्ममा पनि अभिनय गरेका छन् ।