काठमाडौँ । रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रालिको आयोजनामा ब्युटिसियनहरुको व्यक्तित्व विकास र प्रतिभा प्रस्तुतिको लागि विगत ८ वर्षदेखि आयोजना हुँदै आएको सौन्दर्य प्रतियोगिता ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’ को सिजन ८ को फारम खुलेको छ । प्रतियोगिताको ग्रान्ड फिनाले आगामी चैतको अन्तिम साता काठमाडौँमा आयोजना हुँदैछ ।
ब्युटिसियन ट्यालेन्ट नेपाल २०२६ को उपाधि विजेताले यस पटक ५० हजार रुपैयाँसहित उपाधि, क्राउन र विभिन्न उपहार प्राप्त गर्नेछन् । यस्तै फस्ट रनर अप, सेकेन्ड रनर अप लगायतलाई पनि विभिन्न पुरस्कारहरूको व्यवस्था गरिएको आयोजक एवम् ब्युटिसियन सोनी कारंजितले बताइन् । उनका अनुसार विजेताहरूले म्युजिक भिडियो, टेलिफिल्म तथा सर्ट फिल्ममा मेकअप गर्ने अवसर, मोडलिङ गर्ने अवसर पनि प्राप्त गर्नेछन् । सोनीका अनुसार ब्युटिसियन तथा ब्युटिसियन क्षेत्रमा आउन चाहनेहरूले यो प्रतियोगितामा भाग लिने पाउने छन् ।
प्रतियोगिताको फारम विलक्षण क्रियसन प्रालिको कार्यालय पुतलीसडक, रोज ब्युटी एकेडेमीको कार्यालय रवीभवनलगायत अन्य ब्युटी पार्लरहरूमा समेत पाइने अर्का आयोजक डब्बु क्षत्रीले बताए । यो प्रतियोगिताको लागि पहिलो अडिसन यही १५ फागुनमा लिइनेछ । यस्तै दोस्रो अडिसन आगामी २९ फागुनमा तय गरिएको र आगामी १ चैतबाट प्रशिक्षण सुरु गरिने पनि आयोजक क्षत्रीले बताए ।
यो प्रतियोगितामा सहभागीले ब्युटिसियन सम्बन्धी दुई साताको विशेष प्रशिक्षण पनि पाउने छन् । सो प्रशिक्षणमा प्रतियोगीहरूलाई क्यारेक्टर मेकअप, पर्मामेन्ट ल्यासेस, ब्राईडल मेकअप, विभिन्न हेयर स्टाईल एवम् जुरो, हेयर केयर, स्किन केयर, वाटर मार्वल नेलआर्ट, स्पेशल डान्स, बतृत्वकला, पर्सनालिटी डेभलपमेन्ट जस्ता विषयमा प्रशिक्षण समेत दिइने भएको छ । यस्तै दुई साताको क्याटवाट तथा ग्रुमिङ प्रशिक्षणसमेत उनीहरूलाई गराइने भएको छ । यस्तै उनीहरूको विशेष फोटो सेसन र भिडियो सेसन पनि हुने आयोजक पक्षले जनाएको छ ।




