मितज्यूको गैराघरे काइँलीमा ११ लाख बढी दर्शक

काठमाडौं । जनक घर्ती मगरले निर्माण गरेको फिल्म ‘मितज्यू’को ‘गैराघरे काँइली’लाई युट्युबमा ११ लाख बढी दर्शकले हेरेका छन् । यो फिल्मको प्रचारप्रसारको लागि रिलिज भएको पहिलो गीत हो।

निर्माता मगरले आफ्नो फिल्मको यतिधेरै पटक हेरेर साथ दिएकोमा सबैलाई धन्यवाद दिएका छन्। ‘हाम्रो फिल्म मितज्यू को गीत ‘गैराघरे काँईली’ लाई युट्यूबमा ७ दिनमा ११ लाख भन्दा बढि पटक हेरिदिनुहुने यहाँहरु सम्पुर्णलाई धेरै धेरै धन्यवाद,’ उनले भने । गीतलाई २४ हजारभन्दा बढिले लाइक गरेका छन्। साथै १३ सय भन्दा बढिले कमेन्ट गरेका छन्।

कमेन्टकर्ता अनिल एकले तेरिया मगरको डान्स मन परेको उल्लेख गरेका छन्। उनी लेख्छन्, ‘तेरिया मगरका फ्यान सबै यता लाइक गरम् है।’ अधिकांशले कलाकारहरुको अभिनयमा तारिफ खर्चिएका छन्। जसमा सौगात मल्लको अर्को रुप देख्न पाइयो भन्दै दर्शक उत्साहित बनेका छन्। एकै खाल्को भुमिका दिएको भन्दै आलोचनामा पर्ने गरेको सौगातलाई यस गीतमा देखेको रुपमा भने दर्शकले फरक स्वाद पाउने अपेक्षा गरेका छन्।

गीतको भिडियोमा फिल्मका मुख्य तीन कलाकार दयाहाङ राई,सौगात मल्ल र तेरिया फौजा मगरलाई प्रस्तुत गरिएको छ। जसमा सौगात मल्ल र तेरियाले लोकलयको गीतमा गाउँले पहिरनमा नै नाचेका छन्। जुन गीतमा सौगात र तेरिया नाचेका छन्। दयाहाङ भने उक्त गीतमा कथा अनुसार प्ले गरिएको देख्न सकिन्छ। यस गीतलाई श्रीकृष्ण बम मल्ल र मेलिना राईले गाएका छन्। साथै यस गीतमा शब्द र संगीत पनि गायक मल्लकै रहेको छ। मिङ्मा डि लेप्चाको कोरियोग्राफी रहेको यस गीतलाई दर्शकले अत्यधिक रुचाएका छन्।

अनिल बुढा मगरको निर्देशन रहेको यस फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतको अभिनय रहनेछ। यसै फिल्मबाट तेरिया मगरले अभिनेत्रीका रुपमा डेब्यु गरेकी हुन्। आरआर फिल्म्स वितरक रहेको यो फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ। फिल्म आगामी जेठ ८ गतेबाट नेपालभरका हलमा प्रदर्शनमा आउँदैछ।