काठमाडौं । नमुना कलेज अफ फेशन टेक्नोलोजी (एनसीएफटी) द्वारा आयोजित २०औँ ग्राजुएसन फेसन शो ‘विविधायन सौन्दर्यम’ सिर्जना, कल्पना र कलात्मक अभिव्यक्तिको उत्सवका रूपमा सम्पन्न भएको छ । गत शनिबार ललितपुरस्थित झम्सिखेलमा रहेको द प्लाजा नेपालमा आयोजित उक्त कार्यक्रमले रनवेलाई प्रकृति र फेसनबीचको सम्बन्धलाई कथात्मक ढंगले प्रस्तुत गर्ने जीवन्त मञ्चमा रूपान्तरण गरेको थियो । फेशन डिजाइनिङमा स्नातक हुँदै गरेका ६२ जना विद्यार्थी डिजाइनरहरूको सिर्जनात्मक यात्रालाई समेट्दै कार्यक्रममा छ वटा अवधारणामा आधारित संग्रहहरू प्रस्तुत गरिएका थिए ।
नेपालका वन, सिमसार क्षेत्र, हिमाली भूभाग, वन्यजन्तु तथा पुष्पीय विविधताबाट प्रेरणा लिँदै डिजाइनरहरूले प्रकृतिका विभिन्न तत्वलाई फेसन कथामा रूपान्तरण गरेका थिए । रनवेमा ६२ वटा विशिष्ट डिजाइनर पोशाकसँगै छ वटा ‘क्रिएटिभ मास्टरपिस’ पनि प्रदर्शन गरिएका थिए ।
कार्यक्रमको सुरुवात नमुना कलेजकी संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरको रनवे उपस्थितिबाट भएको थियो । कार्यक्रमको कोरियोग्राफी फेसन कोरियोग्राफर तथा सञ्चारकर्मी रोजिन शाक्यले गरेका थिए । रिया श्रेष्ठ, ईशा महर्जन, सन्ध्या निरौला र सरस्वती सिंह ले कार्यक्रम व्यवस्थापन र समन्वयमा सक्रिय योगदान दिएका थिए ।
साँझको पहिलो संग्रह ‘नेपालियमः ह्वेयर आइस फाइन्ड्स इट्स फ्लो’ ले हिमनदी र जलप्रवाहबीचको परिवर्तनशील सम्बन्धलाई दृश्यात्मक रूपमा प्रस्तुत गरेको थियो। हिमनदी पग्लिएर बग्ने जलधाराबाट प्रेरित यस संग्रहमा प्रारम्भमा संरचित आकृतिहरू देखिए भने पछि ती क्रमशः तरल र प्रवाहमय सिल्हुएटमा रूपान्तरण भएका थिए। सेतो, सिल्भर, टिल र जेड रंगहरूको प्रयोगले प्रकृतिमा हुने परिवर्तन र रूपान्तरणलाई प्रतीकात्मक रूपमा अभिव्यक्त गरेको थियो ।
दोस्रो ‘इरिडेसन्ट शेल्सः आर्मर सफ्टेन्ड बाइ एलेगेन्स’ संग्रह भृंगाहरूको सुरक्षात्मक बाहिरी संरचनाबाट प्रेरित थियो। इरिडेसन्ट रंगहरू र सशक्त वास्तुकलात्मक सिल्हुएटहरूको संयोजनले शक्ति र सौन्दर्यबीचको सन्तुलनलाई सुन्दर ढंगले प्रस्तुत गरेको थियो ।
तेस्रो संग्रह ‘आवरण मृत्तिकाः बिनिथ, बियोन्ड, बिकमिङ’ ले माटोको गहिराइभित्र चल्ने प्राकृतिक प्रक्रियाहरूलाई आफ्नो विषयवस्तु बनाएको थियो। सतही बनावटबाट सुरु भएर गहिरो र सुरक्षात्मक संरचनातर्फ विकसित हुने डिजाइनहरूले स्मृति, दबाब र पुनर्जन्मको प्रतीकात्मक कथा अभिव्यक्त गरेका थिए ।
चौथो ‘एभियोराः विङ्स अफ द हिमालय’ संग्रहले उडान, स्वतन्त्रता र आकांक्षाको भावलाई व्यक्त गरेको थियो । हल्का कपडा, पखेटाजस्ता संरचना र गतिशील सिल्हुएटहरूले हिमाली परिवेशको उचाइ, शक्ति र सहनशीलतालाई प्रतिबिम्बित गरेका थिए ।
पाँचौं ‘रेड लिस्ट रिभेरी’ संग्रहले नेपालका संकटग्रस्त वन्यजन्तु—हिमचितुवा, रातो पाण्डा र घडियाल—तर्फ ध्यान केन्द्रित गराएको थियो। माटोका रंग, संरचित डिजाइन र गाढा रातो रंगको प्रयोगले संरक्षण र अस्तित्वको सन्देशलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको थियो ।
छैटौं ‘वनस्पति कुसुमः फरेस्ट ब्लुम्स अफ नेपाल’ ले नेपालको पुष्पीय विविधतालाई काव्यात्मक शैलीमा प्रस्तुत गरेको थियो। गुलाबी र हरिया रंगको संयोजन, कोमल कपडा र सुन्दर सिल्हुएटहरूले गुलाब, लालीगुराँस, अर्किड, कमल र लिली जस्ता फूलहरूको सौन्दर्यलाई कलात्मक रूपमा अभिव्यक्त गरेका थिए ।
कार्यक्रमा एनसीएफटी फेसन क्याटलगको चौथो संस्करणको सार्वजनिक विमोचन पनि गरिएको थियो । उक्त क्याटलग पूर्वाञ्चल विश्वविद्यालयका रजिस्ट्रार प्रोफेसर डा. कल्याणी मिश्रा त्रिपाठी, व्यवस्थापन संकायका डिन डा. सन्देश दास श्रेष्ठ, नमूना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधर, मिस नेपाल कज्मो २०२५ दिपशिखा नेपाल तथा मिस नेपाल इन्टरनेसनल २०२५ उरुषा भण्डारीले संयुक्त रूपमा विमोचन गरेका थिए । कार्यक्रमको निर्णायक मण्डलमा सीटीईभीटीका पूर्व उपाध्यक्ष डा. कुलबहादुर बस्नेत, साखः ग्रुपका अध्यक्ष किरण प्रकाश साखः, पद्मकन्या बहुमुखी क्याम्पसकी क्याम्पस प्रमुख प्रा. डा. जयलक्ष्मी प्रधान, फेसन शिक्षाविद् राजेन्द्र सिंह, फेयर–ट्रेड ग्रुप नेपालका डा. सुनिल चित्रकार, फेसन डिजाइनर मुक्ता श्रेष्ठ र मनिश राई, तथा मिस सुप्रानेसनलका नेशनल डाइरेक्टर एवं मिस्टर नेपाल २०१९ डा. सन्तोष उपाध्याय रहेका थिए।




