काठमाडौं । प्रत्येक अंग्रेजी महिनाको अन्तिम शुक्रवार नेपालयको ‘आर’सालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम पलेंटीमा यही शुक्रबार सुप्रसिद्ध गीतकार शिवशंकर थापाका गीति रचनाहरू प्रस्तुत हुने भएका छन् । पलेँटी कार्यक्रम आजभन्दा २१ वर्ष पहिलेदेखि सञ्चालन हुँदै आएको लघु साङ्गीतिक कार्यक्रम हो ।
शिवशंकर थापा लामो समयदेखि झापाको विर्तामोडमा रहेर साहित्य साधना गरिरहेका शब्द–शिल्पी हुन् । शिवशंकर नेपाली साङ्गीतिक जगतका सम्पूर्ण नेपालीभाषी माझ स्थापित नाम हो ।
थापाका अधिकांश गीति रचनालाई गायक तथा सङ्गीतकार दीप श्रेष्ठले धुन भरेर गाएका छन् । श्रेष्ठले धुन भरेका गीतहरू ‘भन्थी मेरी उनी’, ‘विधुवाले सिन्दूरको रहर’, ‘म त आकाशको जून हुँ’, ‘मेरो आँखामा हरदम’ लामो समयदेखि उत्तिकै लोकप्रिय रहँदै आएका छन् ।
उल्लेखित गीतका साथै गीतकार थापाले रचेका गीतहरू ‘हावासँगै बगुँ भन्छ’, ‘मेरो रहर ब्यूँझिएर’, ‘केही ल्याउन सकिनँ’ पनि उत्तिकै लोकप्रिय छन् । जसलाई सङ्गीतकार सुवर्ण लिम्बू र प्रकाश गुरुङले धुन भरेका हुन् ।
गीतकार थापाका अनुज पुस्ताका सङ्गीतकार आभासले पनि उनका शब्दमा भरखरै सहकार्य गरेका छन् । ‘म त अक्षरको मान्छे हुँ, शिरदेखि पढ या पाउदेखि पढ’ बोलको गीतलाई पलेँटीका कण्ठ शिल्पीले पहिलोपटक मञ्चमा प्रस्तुत गर्नेछन् । यसका साथै कार्यक्रममा सङ्गीतकारहरू बलराम समाल, युवराज पोर्तेल, मणी बर्देवाले धुन भरेका रचनाहरू पनि प्रस्तुत हुनेछन् ।
यसपालीको पलेँटीमा कण्ठ–शिल्पी अभिज्ञा घिमिरे र रुपक चौधरीले शिवशंकर थापाका सम्पूर्ण रचनाहरूलाई आफ्ना कण्ठले गुञ्जायमान बनाउने छन् ।
पलेँटी कार्यक्रम यही मे महिनाको अन्तिम शुक्रबार २९ तारिखका दिन आयोजना हुनेछ ।





