काठमाडौं । यही फागुन २९ गते रिलिज हुने फिल्म ‘लालिमा’को दोस्रो पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले फिल्मकी शीर्ष नायिका रोशनी कार्कीलाई एकल रुपमा प्रस्तुत गरेको पोस्टरमा रोशनीलाई निराश भावमा देखाइएको छ । फिल्ममा रोशन मिराजको लेखन तथा निर्देशन छ ।
पोस्टरमा समस्यामा जेलिएकी रोशनीलाई आत्माविश्वासी, सहनशील र शान्त देखाइएको छ । माथिल्लो शरीरमा कपडा नलगाएकी उनी झ्यालबाट कोठाभित्र छिरेको प्रकाशमा परेकी छिन् । पोस्टरले उनी यौनकर्मीको चरित्रमा रहेको संकेत गर्छ ।
निर्देशक मिराजले पहिलो पोस्टरले असहायता र रहस्यलाई केन्द्रमा राखे पनि नयाँ पोस्टरले शक्ति, आत्मविश्वास, सहनशीलता र परिवर्तनको संकेत दिएको बताए । यस पोस्टरमा शीर्षक लेख्न रातो रङ प्रयोग भएको छ ।
फिल्ममा रोशनीसँगै जीवन भट्टराई, उषा रजक, सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल र शिशिर वाङ्देलको अभिनय छ । तीन हजार यौनकर्मीको अनुभव, संघर्ष र भोगाइमा आधारितमा रहेर निर्माण गरिएको भनिएको फिल्म फेथ आस्थाको प्रस्तुतिमा बनेको हो । फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन्। नेसनल सिने ग्रुप नेपालले यो फिल्म वितरण गर्दै छ ।




