पारसमा सुशील अनुबन्ध

काठमाडौं । कृषा चौलागाइँको निर्देशनमा निर्माण हुने फिल्म ‘पारस’मा सुशील श्रेष्ठ अनुबन्ध भएका छन् । कृषाले सुशीलसँगको फोटो सेयर गर्दै फिल्ममा सुशीललाई अनुबन्ध गरेको जानकारी दिएकी छन्। उनी लेख्छिन्, ‘प्रतिभाशाली र आकर्षक श्री सुशील श्रेष्ठलाई हार्दिक स्वागत छ।’

उनले सुशील आएपछि फिल्म राम्रो फिल्म बन्न सक्ने बताएकी छन्। यसअघि यो फिल्ममा निखिल उप्रेती नायकका रुपमा अनुबन्ध भइसकेका छन्। नायिकामा जसिता गुरुङ, प्रियंका कार्की, निरुता सिंहलाई निर्माण टिमले फिल्मका लागि अनुबन्ध गरिसकेको छ।

कृषाले यसअघि सामाजिक कथामा निर्माण भएको फिल्म ‘ऐँचोपैचो’ र एक्सन जनराको फिल्म ‘पिताम्बर’मा आफ्नो काम देखाइसकेकी छन्। प्रेमकथामा आधारित यस फिल्मलाई भारतीय पटकथाकार सचिन लादियाले लेखेका हुन्। उनले लेखक पनि सन् २०१२ को भारतीय फिल्म ‘ग्याङ्स अफ वासेपुर’ को भाग १ र २ को पटकथा लेखनमा सहकार्य गरेका लादियालाई फिल्ममा लिएकी छन्। चुनाव लगत्तै फिल्मको छायांकन थाल्ने कृषाको तयारी छ।