मिस इको इन्टरनेशनलमा नेपालकी सेजल

काठमाडौँ । इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२६’मा नेपालको प्रतिनिधित्व सेजल राजभण्डारीले गर्ने भएकी छन् । ग्रीन आर्ट मिडियाले सेजललाई ‘मिस इको इन्टरनेशनल नेपाल २०२६’को ताज पहिर्याउँदै उक्त प्रतियोगीताका लागि आधिकारिक प्रतिनिधि चयन गरेको हो ।

हालै सेजललाई गत बर्षकी (मिस इको इन्टरनेशनल नेपाल २०२५) विजेता संस्कृति भट्टले ‘मिस इको इन्टरनेशनल २०२६’ ताज पहिर्याएकी थिइन् । ताज लगाएपछि सेजलले यसलाई आफ्नो जीवनको एक महत्वपूर्ण अवसर भएको बताइन् । आफूलाई यो अवसर प्रदान गरेकोमा ग्रीन आर्ट मिडियाप्रति आभार व्यक्त गर्दै उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको मौलिक संस्कृति र पर्यटकीय स्थलहरूको विश्वमाझ प्रचारप्रसार गर्ने प्रतिबद्धता जनाइन् ।

आगामी अप्रिलमा आयोजना हुने प्रतियोगीतामा ७५ भन्दा बढी देशका ‘इको सुन्दरी’हरूको सहभागिता रहनेछ, जहाँ सेजल नेपालको तर्फबाट एक्लो प्रतिनिधिको रूपमा उभिनेछिन् । प्रतियोगीताका लागि सेजललाई ग्रीन आर्ट मिडियाकी प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठलगायत नेपालका प्रतिष्ठित व्यक्तिहरूबाट विशेष ग्रुमिङ (प्रशिक्षण) दिइनेछ । श्रेष्ठ २०१५ देखि नै प्रतियोगीताका लागि नेपालको लागि आधिकारिक राष्ट्रिय निर्देशकको रुपमा छानिएकी हुन् ।

वातावरण र पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ ‘ब्युटी फर इको’ नारासहित एल.टी.सि.पि.अर्गनाइजेशनले सन् २०१५ बाट इजिप्टमा यो प्रतियोगिता सुरु गरेको हो । विश्वभरका पर्यावरण र संस्कृतिलाई अन्तर्राष्ट्रिय नेटवर्कमार्फत सूचना प्रवाह गर्नु यसको मुख्य लक्ष्य रहेको ग्रीन आर्टस मिडियाका सिइयो प्रविन लाकौलले जानकारी दिए ।