काठमाडौं । फागुन २९ बाट प्रदर्शनमा आउने फिल्म ‘लालिमा’मा नायिका रोशनी कार्की शीर्ष भूमिकामा निर्वाह गरेकी छन् । फिल्ममा उनी यौनकर्मीको चरित्र ‘लालिमा’ बनेकी छन् । ‘लालिमा’ पात्र निर्माणका लागि उनले आफूले गरेको तयारीबारे खुलेकी छन् ।
थिएटर पृष्ठभूमिकी उनले पहिलो पटक यौनकर्मीको भूमिका निर्वाह गरेकी हुन् । पात्र निर्माणका लागि उनलाई यौनकर्मी नै भेट्न आवश्यक थियो । उनी भन्छन्, ‘यौनकर्मी मैले चिनेको छैन । आफूलाई यौनकर्मी बताउने को नै हुन्छ ? उनीहरुको पेसा नै थाहा हुँदैन । मलाई रिफ्रेन्सका लागि उनीहरुसँग भेट्नु थियो ।’
यौनकर्मीको मानसिकता बुझ्नका लागि उनीहरुसँगको भेट आफूलाई उपयुक्त लागेको उनको तर्क छ । रोश्नी भन्छिन्, ‘फिल्म यौनकर्मीको मानसिकताबारे बढी केन्द्रित छ । नेपाली परिवेशका यौनकर्मीको मानसिकता के छ ? भन्नेबारे बुझ्न त मैले उहाँहरुसँग नै भेट्नु आवश्यक थियो नि ।’
निर्माण टिमको सम्पर्कमा रहेका १० यौनकर्मीसँग कुराकानी भएपछि निर्माणमा सहयोग भएको उनले खुलाइन् । उनी भन्छिन्, ‘यौनकर्मीहरुसँग मैले कुराकानी गरेँ । तर, उहाँहरु आफ्नो समस्या पीडा र मनोदशा सुनाउनुभयो । पात्र निर्माणमा मलाई सहयोग भयो ।’
आफूले भेटेका यौनकर्मीहरु कलेज पढ्ने किशोरीदेखि अधवैँशे उमेरसम्म रहेका उनी सुनाउँछिन् । उनी भन्छिन्, ‘सबै आर्थिक समस्याले नै यो पेसामा आएको पाएँ । किशोरीदेखि अधवैँश उमेरसम्मका छन् । उनीहरु आफ्नो आर्थिक समस्या टार्नका लागि यो पेसामा आएका छन् ।’
ठूलो संख्यामा रहेका यौनकर्मीको मानसिकता र पीडाको प्रतिनिधित्व गर्न पाएकामा उनलाई सन्तुष्टि मिलेको छ । उनी भन्छिन्, ‘कलाकारको रुपमा म यौनकर्मीहरुको आवाज बनेकी छु । उहाँहरुका लागि मैले गर्न सक्ने काम गरेँ । कम्तीमा मैले उहाँहरुको मानसिकता र समस्या पर्दामा उतार्ने प्रयास गरेकी छु ।’




