काठमाडौं । २० वर्षदेखि यौनकर्मीसँग प्रत्यक्ष जोडिएर काम गरे पश्चात फिल्म ‘लालिमा’ बनेको निर्माण पक्षले दाबी गरेको छ । काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा लेखक तथा निर्देशक रोसन मिराजले यौनकर्मीहरूको अवस्था गहनरुपले डकुमेन्ट्रीमा देखाउन सम्भव नभएपछि कलाकार लिएर फिल्म बनाउने निर्णय लिएको बताए ।
उनले भने, ‘हामी पछिल्लो २० वर्षदेखि यौनकर्मीहरूसँग जोडिएर काम गरिरहेका छौं । डकुमेन्ट्री बनाउन खोज्दा परिचय खुल्ने डरले पर्दामा देखिन चाहनुभएन । फिल्म बनाउँछौं भन्दा आफ्नो अवस्था, समस्या र पीडाबारे खोल्न तयार हुनुभयो ।’ यौनकर्मीप्रतिको दृष्टिकोण र उनीहरूको वास्तविकताको खाडल पुर्न ‘लालिमा’ निर्माण गरिएको उनले बताए ।
अभिनेत्री उषा रजकले विगत लामो समयदेखि निर्माण पक्षले यौनकर्मीसँग जोडिएर गरेको काम गरिरहेका कारण आफू यस फिल्ममा अनुबन्ध भएको बताइन् । उनले भनिन्, ‘कसैको पीडालाई फिल्म बनाउने अधिकार कसैलाई छैन जस्तो मलाई लाग्छ । तर, यो टिमले २० वर्षदेखि यौनकर्मीसँग जोडिएर काम गरेको छ । उनीहरुको पीडामा साथ दिएको छ । उहाँहरूसँग तीन हजार यौनकर्मीको जोडिएर काम गरेको अनुभव छ । सोहीकारण उहाँहरूलाई यौनकर्मीको पीडाको कथा भन्ने अधिकार छ जस्तो लाग्यो । त्यही भएर म यो फिल्मको कलाकार बन्न तयार भएँ ।’
समस्या परेका यौनकर्मीको आवाज बनेर फिल्ममा देखिन पाउने अवसर गुमाउन नचाहेका ‘लालिमा’मा काम गरेको शीर्ष नायिका रोशनी कार्कीले बताइन् । उनले भनिन्, ‘समाजले यौनकर्मीहरूले मानवको दर्जासमेत दिएको छैन । यो फिल्मको प्रस्ताव आएपछि मैले उहाँहरूबाट बुझेको प्रमुख कुरा यही हो । उहाँहरू यो कर्ममा आउनुको कारण डरलाग्दो छ । उहाँहरूको आवाज बन्न म यो फिल्ममा जोडिएको हो ।’
फेथ आस्थाको प्रस्तुतिमा बनेको यस फिल्ममा रोशनी र उषासहित नायक जीवन भट्टराई, सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल र शिशिर वाङ्देल मुख्ष भूमिकामा छन् । फागुन २९ बाट प्रदर्शनमा आउने यस फिल्मको कार्यकारी निर्माता रीना लामा हुन् । नेसनल सिने ग्रुप नेपालले यो फिल्म वितरण गर्दै छ ।




