काठमाडौं । गत शुक्रबार र शनिबार साँझ कालिकास्थानमा रहेको नेपालयको ‘आर’शालामा साहित्यकार भूषिता वशिष्ठको काव्यवाचन सम्पन्न भएको छ ।साहित्यको अध्ययन र अन्वेषणमा क्रियाशील भूषिताले झण्डै सात वर्ष पहिले पनि यही मञ्चमा आफ्नो छन्द काव्यवाचन प्रस्तुत गरेकी थिइन् ।
यसपालिको पलेँटीमा अग्रज र समकालीन कविका डेढ दर्जन काव्यात्मक रचनाहरू समेटिएका थिए । पलेँटीका बाद्यवादकसहित मञ्चमा देखिएकी भूषिताले आफ्नो काव्यात्मक साँझलाई ‘बसन्त स्नान’का रुपमा ग्रहण गरिदिन अनुरोध गरेकी थिइन् ।
भूषिताले आफ्नो कार्यक्रमको थालनीमा ‘कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारम् । सदा बसन्तं हृदयारबिन्दे भबं भवानीसहितं नमामि ।।’ बोलसमेटिएको मङ्गलगानबाट गरेकी थिइन् । उनले ‘विभत्स’ र ‘भयानक’ रसलाई भने सचेतना पूर्वक नसमेटेको जानकारी पनि गराएकी थिइन् ।
उनी भन्दै थिइन् ‘मैले आजको साँझको शीर्षक नै ‘बसन्त स्नान’ दिएँ, यति सुन्दर जमघटमा ‘विभत्स’ र ‘भयानक’ रस घोप्ट्याउन मन लागेन यद्यपि ती पनि साहित्यभित्रका रसहरु हुन् । तर मैले आज तिनलाई आफ्नो तालिकामा पार्न चाहिन ।’
कवि सोमनाथ शर्मा सिग्द्यालको ‘बसन्त ऋतु’ शीर्षकको कविता हुँदै अघि बढेको कार्यक्रममा मोतीराम भट्ट, लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, माधवप्रसाद घिमिरे, लोकप्रिया देवकोटा, अग्निप्रसाद शर्मा बराल, भैरव अर्याल जस्ता मूर्धन्य कविहरूका रचनाहरू समेटिएका थिए ।
कार्यक्रमका क्रममा भूषिताले आफ्ना पिताजी कवि भरतमणि भट्टराई र आफैंले सृजना गरेका कविताहरु पनि प्रस्तुत गरेकी थिइन् । हाँस्यरस प्रधान भैरव अर्यालको कविता सुनाउने क्रममा भूषिताले उल्लेख गरेको भानुभक्त र देवकोटाको परलोक भेटको सन्दर्भ रोचक सुनिएको थियो । त्यस क्रममा उनले भानुभक्तको ‘अलकापुरी कान्तिपुरी नगरी’ माथि सोही शीर्षकको प्यारोडी वाचन गरेकी थिइन् ।
कविताको अर्को चरणमा भूषिताले आफ्ना पिताजीले सृजना गरेका दुईवटा कविता वाचन गरेकी थिइन् । बाल्यकालको स्मृतिमा डुब्दै आफू हुर्किएको परिवेश सम्झँदा उनी निकै भावुक बनेकी थिइन् । कार्यक्रमको अन्तिम चरणमा ‘हजुरआमालाई’ शीर्षकको स्वः रचित कविता वाचन गर्दा उनका गहहरू टिलपिलाएका देखिन्थे ।
कार्यक्रमको समापन लक्ष्मीप्रसाद देवकोटाको ‘एक सुन्दरी वेश्याप्रति’ शीर्षकको कविताबाट भएको थियो । पञ्चचामर छन्दमा आवद्ध यो कविता तालमय सुनिन्थ्यो । भूषिताको चेहरामा कविताको भाव अनुरुपको रौद्रता पनि झल्कन्थ्यो।







