काठमाडौं । उच्च अदालत पाटनको आदेशसँगै फिल्म ‘लालीबजार’ यही शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय खडानन्द तिवारी र नेत्रप्रसाद आचार्यको संयुक्त इजलासले यसअघि ‘लालीबजार’ को प्रदर्शनमा रोक लगाउँदै दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको पछि रिलिजको बाटो खुलेको हो ।
फिल्म निर्माण कम्पनी षट्कोण आर्ट्सका निर्माता म्याक्स दीपेश खत्रीले अदालतको आदेशसँगै फिल्म आगामी शुक्रबारदेखि प्रदर्शन हुने जानकारी दिए। ‘हामीले कुनै पनि समुदाय वा वर्गको भावनामा ठेस पुग्ने गरी फिल्म तयार गरेका थिएनौँ। हामीले आमा र छोरीको कथामा फिल्म निर्माण गरेका छौँ। फिल्मले छोरीका लागि आमाले गर्ने संघर्षको कथा प्रस्तुत गर्छ,’ उनले भने ।
निर्देशक तथा लेखक यम थापाले फिल्म हेरेपछि कुनै पनि समुदायको भावना आहत नहुने विश्वास व्यक्त गरे। ‘अहिले अनुमानका भरमा फिल्मलाई लिएर विभिन्न अडकलबाजी भएका छन्। फिल्म हेरेपछि कसैको चित्त दुख्दैन भन्नेमा म विश्वस्त छु,’ उनले भने ।
फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा आर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कडायत, निश्चल पन्थी, विरवल चौधरीलगायतका कलाकारहरूको अभिनय रहेको छ।
फिल्मको पटकथा र संवाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन् । फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता रहेका छन्।





