काठमाडौं । आज वैशाख २५ देखि नेपालभर प्रदर्शन भएको फिल्म ‘लालीबजार’ को बिहीबार साँझ राजधानीमा आयोजित प्रिमियरमा फिल्म हेर्ने सेलिब्रेटी तथा बादी समुदायका अभियन्ताले तारिफ गरेका छन् । प्रिमियरमा मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले फिल्म हेरेपछि फिल्मको विषयवस्तु, निर्देशकीय पक्ष, कलाकारको अभिनयको प्रशंसा गरे ।
कलाकार मदनकृष्ण श्रेष्ठले फिल्मलाई पर्फेक्ट फिल्म लागेको प्रतिक्रिया दिए । ‘यो फिल्म सबै पक्षमा अब्बल छ, नेपाली कथालाई निकै राम्रोसँग पर्दामा प्रस्तुत गरिएको छ । आमा र छोरीको भावनात्मक सम्बन्धलाई फिल्मले निकै राम्रोसँग प्रस्तुत गरेको छ । १० मा यो फिल्मले १० नै नम्बर डिजर्भ गर्छ,’ उनले भने ।
कलाकार हरिवंश आचार्यले फिल्म सामाजिक संदेशसहित मनोरन्जनात्मक बनेको प्रतिक्रिया दिए । ‘फिल्म एकदमै राम्रो छ, शब्दमा प्रसंशा गर्न सकिरहेको छैन । एकदमै राम्रो छ, मैले हेरेका मध्येमा राम्रो फिल्मको सूचीमा पर्छ लालीबजार’, अभिनेता आचार्यले भने ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले स्वस्तिमाले आफ्नो अभिनय क्षमता पुनः प्रस्ट्याएको प्रतिक्रिया दिँदै निर्माण कम्पनि षट्कोण आट्र्सले राम्रो फिल्म बनाएको बताए । ‘स्वस्तिमा आफैँमा आफ्नो अभिनय क्षमताका कारण चर्चामा आउँछिन्, यसपटक उनले आफ्नो उचाई झन् बढाएकी छिन् । यो फिल्म हेर्ने जो कोहीको आँखा रसाउँछ, ढुक्क हुनुस् । यो फिल्म हाम्रो भाषामा भन्दा ’बबाल’ नै चल्छ’, अध्यक्ष डिसीले भने ।
पूर्व मन्त्री सुमना श्रेष्ठले फिल्मले सामाजिक विभेद र त्यस विरुद्ध उठाउनु पर्ने कदमलाई फिल्मीशैलीमा सबैले बुझ्ने गरी देखाइएको बताइन । नेता रवीन्द्र मिश्रले नेपाली समाजको एउटा कालखण्डको क्रुर र पीडादायी विभेदको विषयलाई ‘लालीबजार’ फिल्ममा कलात्मक र सशक्त ढङ्गबाट चित्रण गरिएको बताए ।
बादी समुदायकी अभियता देवीसरा बादीले फिल्मको विषयवस्तुले आफ्नो आमाको सङ्घर्षलाई स्मरण गएको बताइन । ‘यो फिल्म मेरो पनि कथा हो । मेरो आमाले पनि मलाई सङ्घर्ष गरेर पढाउनु भयो, मैले फिल्म हेरिरहँदा आमालाई देखे । यो हरेक आमा र छोरीले हेर्न पर्ने फिल्म बनेको छ । यो हरेक समुदायका महिलाले गर्व महसुस गर्ने फिल्म बनेको छ,’ उनले भनिन् ।
फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा आर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कडायत, निश्चल पन्थी र विरवल चौधरीलगायत कलाकारहरूको अभिनय रहेको छ ।





