काठमाडौं । ‘पर्यटक कलाकारको स्वागत गर्ने नेपाली लोकसांस्कृतिक आधार’ भन्ने मूल नारासहित एभरेस्ट नेपाल कल्चरल ग्रुपले आयोजना गरेको तेह्रौँ अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेला २०८२ सम्पन्न भएको छ। उक्त मेला यही चैत्र ५ गतेदेखि १४ गतेसम्म सञ्चालन भएको थियो।
कार्यक्रमको उद्घाटन काठमाडौंमा भएको थियो भने पाँचखाल, पोखरा, बुढानिलकण्ठ, बसन्तपुर, पाटन दरबार क्षेत्र लगायत विभिन्न विद्यालयहरूमा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएको थियो। मेलामा बोत्सवाना, इस्टोनिया, जर्मनी, भारत, ताइपे, साउथ अफ्रिका, इजरायल, नेपाल लगायतका देशहरूको सहभागिता रहेको थियो।
आयोजकका अनुसार, विगत २००२ सालदेखि प्रत्येक दुई वर्षमा आयोजना हुँदै आएको यस मेलामा विभिन्न देशका कलाकारहरूले आफ्ना मौलिक लोकसंस्कृति झल्कने प्रस्तुति दिएका थिए। कार्यक्रमलाई देशभरबाट ५ लाखभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गरेका थिए भने टेलिभिजन, युट्युब र फेसबुकमार्फत पनि उल्लेखनीय दर्शक सहभागिता रहेको एभरेष्ट नेपाल कल्चरल ग्रुपका संस्थापक अध्यक्ष, आरसी कोइराला ‘रामचन्द्र’ले बताए ।
एभरेस्ट नेपाल कल्चरल ग्रुपकी निर्देशक सीतल आचार्यले आगामी चौधौँ अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेला २०८४ को तयारीमा जुट्ने जनाएकी छन् ।




