काठमाडौं । यहीँ शुक्रबारदेखि प्रदर्शनमा आइरहेको फिल्म ‘एक मुठ्ठी बादल’ले बुधबार साँझ प्रिमियर गरिरहँदा प्रिमियरको प्रमुख आकर्षण फिल्मकी नायिका आँचल शर्मा बनिन् । महिला नौमति बाजा समुहको नौमति बाजामा आँचलले डिजाइनर मनिस राईद्वारा तयार गरिएको रातो रंगकै गाउन र लामो घुम्तो लगाएर प्रिमियर स्थलमा प्रवेश गर्दा सबैको नजर उनीतिरै पर्यो ।
साहारा शर्माद्वारा निर्देशित यस फिल्मको प्रिमियरमा पनि फिल्ममा जस्तै महिलाको उपस्थितिलाई केन्द्रमा राखेको देखिन्थ्यो। फिल्ममा आँचलले ‘माइली’ को भूमिका निर्वाह गरेकी छन्, जसको विवाहको तयारीको रमझम छ। उनको पात्रमार्फत विवाहसँग जोडिएका भावनात्मक जटिलता, सामाजिक अपेक्षा र महिलाले भोग्ने व्यक्तिगत अनुभवलाई संवेनशील ढंगले प्रस्तुत गरिएको छ।
दर्शकहरूले फिल्मको कथावस्तु, अभिनय तथा कथावाचन शैलीको खुलेर प्रशंसा गरे। साँझको कार्यक्रम कलाकार तथा निर्माण टिमसँग सञ्चारकर्मीहरूको अन्तरक्रिया सत्रसँगै सम्पन्न भएको थियो, जहाँ फिल्म निर्माण, प्रतिनिधित्व तथा समकालीन सिनेमामा स्थानीय कथाहरूको महत्त्वबारे छलफल केन्द्रित रहेको थियो।
‘हामीले मनदेखि एउटा फिल्म बनाएका छौं। अब यसलाई हेर्ने, यसको बारेमा कुरा गर्ने र अझ धेरै दर्शकमाझ पुर्याटउने जिम्मा तपाईंहरूको हो,’ निर्माता अभिमन्यु दीक्षितले भने । फिल्ममा सहारा शर्माको निर्देशन छ ।





