काठमाडौं । हास्य सिरीज ‘फुर्के नम्बर १’ नयाँ स्वरूपमा फेरि सुरु भएको छ। विल्सनविक्रम राईको लेखन तथा निर्देशन रहेको यो सिरीज प्रत्येक मङ्गलवार युट्युब च्यानल ‘तक्मे बुढा डटकम’ मार्फत दर्शकमाझ प्रदर्शन भइरहेको छ।
यसपटकको एपिसोडमा नेपाल र भारतका लोकप्रिय रैथाने कमेडियनहरूलाई एउटै पर्दामा समेटिएको छ। दार्जिलिङबाट चर्चा कमाएका ‘राइजिङ ब्वाइज’का अमित सुब्बा (भक्ते) र स्टार सपन कन्टेन्ट क्रिएटर सपन सुब्बाको टोली (सुकरानी सुब्बा र ब्रेजा चाम्लिङ) यस शृङ्खलाका मुख्य आकर्षण हुन्। साथै, सिक्किमका बहु(प्रतिभाशाली क्यारिकेचर आर्टिष्ट सुरज र भल्गर प्रविन गुरुङको समेत यसमा अभिनय रहनेछ।
नेपालका स्थापित कलाकारहरू कविता आले, बुद्धि तामाङ, रबिन्द्र झा, रजनी गुरुङ, उदय सुब्बाजस्ता कलाकारसहित प्राविधिक टोलीमा विक्रम डिसी (छायाङ्कन), रविन्द्र खड्का (सम्पादन) र निपेश राई (सह–निर्देशन) रहेका छन्। सिरीयलकी निर्मात्री सरीना लामा (राई), डिबी राई हुन् ।





