काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले आफ्नो २७ औं स्थापना दिवसको अवसरमा विभिन्न चलचित्र पत्रकारहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।संघले प्रत्येक वर्षको जेठ ७ गते आफ्नो स्थापना दिवससँगै राष्ट्रिय चलचित्र पत्रकारिता दिवस मनाउँदै आएको छ । सोहि अवसरमा चलचित्र पत्रकारितामा योगदान पुर्याउँदै आएका ६ जना चलचित्र पत्रकारहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो ।
बिहीबार काठमाडौंस्थित लिसारा रिसेप्सनमा आयोजित समारोहमा पत्रकार अनन्त वाग्लेलाई ५५ हजार ५ सय ५५ रुपैंयाँ राशिसहितको ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८३’बाट सम्मान गरियो । त्यस्तै, कुवेर गिरी र जयन सुब्बा मानन्धरलाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान–२०८३’ प्रदान गरियो ।
यस्तै वैकुण्डराज पराजुलीलाई ५१ हजार रुपैंयाँ राशिको ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८३’ प्रदान गरियो भने ‘स्वर्गीय दिनेश सिटौला स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८३’ अन्तर्गत ५१ हजार रूपैयाँ राशिसहित सुरक्षा भट्टराई सम्मानित भइन् ।
त्यस्तै मिलन ढुंगानालाई २५ हजार रुपैंयाँ राशिसहित ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन सम्मान २०८३’बाट सम्मा गरियो । कार्यक्रममा स्वर्गीय दिनेश सिटौलाप्रति मरणोपरान्त विशेष सम्मान अर्पण गरिएको थियो ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले नेपाली चलचित्र पत्रकारिता क्रमशः संगठित र व्यवस्थित हुँदै गएको उल्लेख गर्दै चलचित्र प्रवद्र्धनमा पत्रकारिताको भूमिका अतुलनीय रहेको बताए । अभिनेता राजेश हमालले चलचित्र र पत्रकारिता क्षेत्रबीच गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै समयसँगै दुवै क्षेत्रले उल्लेखनीय विकास गरेको बताए।
अभिनेत्री करिष्मा मानन्धरले चलचित्र र पत्रकारिता क्षेत्र एकअर्काका परिपूरक भएको बताउँदै फिल्मलाई दर्शकमाझ पुर्याउने मुख्य माध्यम पत्रकारिता नै रहेको उल्लेख गरिन् ।
कार्यक्रमका अध्यक्ष समीर बलामीले चलचित्र पत्रकारितालाई अझ संगठित, मर्यादित र जिम्मेवार बनाउँदै लैजानुपर्नेमा जोड दिँदै संघलाई थप सशक्त र क्रियाशील बनाउने प्रतिबद्धता व्यक्त गरे । यस्तै संघका महासचिव गोपिकृष्ण चापागाईंले चलचित्र पत्रकारितामा भर्खर लाग्दै गरेका देखी तीनदशकसम्म यहि क्षेत्रमा सक्रिए रहेका चलचित्र पत्रकारहरुलाई सम्मानित तथा पुरस्कृत गरिएको बताए । चापागाईंले आगामी बर्षका पत्रकारिता दिवस अझ भब्य रहने जानकारी गराए ।
कार्यक्रममा मोडल अस्मिता पुरीले स्वागत नृत्य प्रस्तुत गरेकी थिइन् भने द भ्वाइस अफ नेपालका बिजेता समेत रहेका गायक प्रोसेस पाण्डेले एक फिल्मी गीत गाएका थिए ।





