घनश्यामको पञ्चेबाजा हेर्न अभिभावक अनिवार्य

काठमाडौं । आगामी शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘पञ्चेबाजा’ले फिल्म सेन्सर बोर्डबाट आइतबार ‘पीजि’ सर्टिफिकेट पाएको छ । यो सर्टिफिकेट पाएको फिल्म हेर्न अब १६ वर्ष मुनिका बालबालिका अभिभावकसँग जानुपर्नेछ ।  एक गाउँका तीन पात्रको कथा प्रस्तुत गरिएको फिल्मको निर्देशन घनश्याम लामिछानेले गरेका छन् । न्यू भेनस फिल्मसको व्यानरमा निर्माण भएको फिल्ममा राजेश शाहीको लगानी छ ।

फिल्ममा सौगात मल्ल, कर्मा, बुद्धि तामाङ, सिर्जना सुब्बा, जस्मिन श्रेष्ठ, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी र राजेश शाहीको अभिनय छ । निर्देशक लामिछानेले गाउँका तीन युवाको कथा वरीपरी फिल्म घुम्ने बताए । ‘फिल्मको नाम अनुसार फिल्म पनि मौलिक बनाएका छौं । त्यसकारण यो दर्शकको रोजाईमा अवश्य पर्नेछ ।’ उनले भने । घनश्यामले यसअघि ‘धौली’ र ‘अग्नीदहन’ निर्देशन गरिसकेका छन् । निर्माता शाहीले यसअघि नै ‘कवच’, ‘मेरो मनको साथी’, ‘बीच बाटो’ निर्माण गरिसकेका छन् ।

सारा गुरुङ सहनिर्माता रहेको फिल्ममा कालीप्रसाद बास्कोटा र विकास चौधरीको संगीत, दीर्घ खड्काको सम्पादन, प्रदिप भारद्वाजको लेखन, जेसन कुँवरको पाश्र्व ध्वनि, मिक्सिङ उत्तम न्यौपाने, कुमार आचार्यको मिडिया संयोजन र हरि घले लामाको छायांकन छ ।