द ब्लू लाइटको प्रदर्शन स्थगित

काठमाडौं । गत माघ १६ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘द ब्लू लाइट’को प्रदर्शन स्थगित भएको छ । सोमबार निर्माता कम्पनी स्काइफल पिक्चर्सको तर्फबाट निर्देशक बलिराम चौहानले विज्ञप्ति जारी गर्दै फिल्मलाई पुनः प्रदर्शन गर्ने गरी हलबाट हटाउने निर्णय गरिएको जनाएका छन् ।

‘दर्शकबाट फिल्मलाई नेपाली फिल्मका लागि फरक, नयाँ र महत्वपूर्ण प्रयासका रूपमा मूल्याङ्कन गर्दै अझ व्यापक प्रचारप्रसार आवश्यक रहेको सुझाव प्राप्त भएपछि आगामी दिनमा थप सशक्त तयारी र प्रभावकारी प्रचार रणनीतिसहित पुनः प्रदर्शन गर्ने योजनासहित फिल्मलाई हालका लागि हलबाट हटाउने निर्णय गरिएको हो’, विज्ञप्तिमा उल्लेख छ ।

साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको यस फिल्ममा अर्पण थापा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी लगायतको अभिनय रहेको छ । भोलानाथ कटुवाल र रमन ग्रे सह(निर्माता रहेको फिल्मका कार्यकारी निर्माताहरू बेनिशा हमाल र नरेन्द्र मैनाली हुन् ।