काठमाडौं । फिल्म ‘मितज्यू’ जेठ ८ गतेबाट प्रदर्शनमा आउँदै गर्दा यही फिल्मबाट कुशल नृत्यकार तेरिया मगर अभिनयमा डेब्यू गर्दैछिन् । आफ्नो नृत्य कौशलले भारत र नेपालमा गहिरो छाप छोडेकी तेरियाले अब अभिनयमा के कस्तो गर्छिन् भन्ने फिल्म रिलिज पछि मात्र थाहा हुनेछ । त्यस हिसाबमा उनलाई यो फिल्म अभिनयको अग्निपरीक्षा नै हुनेछ ।
तेरिया ‘मितज्यू’को गीतमा मात्रै देखिने कलाकार होइनन् । तेरिया फिल्मको मुख्य भूमिकामा देखिँदैछिन् । फिल्ममा उनको नृत्यसँगै अभिनय चाहिँ बोनसका रुपमा दर्शकले हेर्न पाउनेछन् ।
गत वर्ष बक्सअफिसमा हिट फिल्म ‘घर ज्वाइँ’ दिएका निर्देशक अनिल बुढा मगरको फिल्ममा तेरियासँगै दयाहाङ राई र सौगात मल्ल देखिँदैछन् । उनीहरुबाहेक खड्गबहादुर पुन मगर (खबपु), शिशिर वाङ्देल, पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछानेलगायतको अभिनय रहेको छ ।
जनक घर्ती मगरको निर्माण रहेको फिल्ममा लोकेश बज्राचार्यको सम्पादन। शिशिर बिशंखेको सिनेमेटोग्राफी छ ।





