काठमाडौं । चन्द्र पन्तको निर्देशनमा निर्माण हुने फिल्म ‘आ बाट आमा२’मा सबिन श्रेष्ठ अनुबन्ध भएका छन् । उनलाई फिल्मका निर्देशक तथा निर्माता पन्तले फिल्मको एक मुख्य भुमिकामा अनुबन्ध गरेका हुन्।
मुहुर्तसमेत भइसकेको यो फिल्ममा पल शाह, विपना थापा, आकाश श्रेष्ठलगायतका कलाकार अनुबन्ध भइसकेका छन् । फिल्मको गत सोमबार ललितपुरको बंगलामुखी मन्दिरमा मुहुर्त गरिएको थियो ।
गत वर्षको फिल्म ‘आ बाट आमा’ सुपरहिट भएको थियो। सोही फिल्मको यो सिक्वेल हो। फिल्ममा प्रदीप रावत, गजित बिष्ट, नरेन खड्कालगायतको पनि अभिनय हुनेछ ।
आगामी दसैंमा प्रदर्शनमा ल्याउने भनिएको यो फिल्मको केहि सातापछि फ्लोरमा निस्किने तयारी छ। यस फिल्मको कथा तथा पटकथा निर्देशक पन्तकै रहने छ भने यस फिल्मको वितरण आर आर फिल्मस्ले गर्दैछ । आर्या इन्टरेटन्मेन्ट प्रालीको व्यानरमा हुने यस फिल्मको डिजिटल अधिकार ओएसआरले लिएको छ। साथै प्रोडक्सन म्यानेजर करणसिंह रसाली रहेका छन्।





