तेस्रो द्वन्द्वको तयारीमा दयाहाङ र सौगात

काठमाडौं । अभिनेता सौगात मल्ल र दयाहाङ राईले पर्दामा दुई फिल्म ‘लुट’ र ‘कबड्डी’मा राम्रै द्वन्द्व गरे । अब यी दुई कलाकार फिल्म ‘मितज्यू’मा यही शुक्रबारबाट द्वन्द्व गरिरहेको दर्शकले हेर्न पाउनेछन् । दुई मितको कथा हो, ‘मितज्यू’ । फिल्ममा सौगात र दयाहाङ मित हुन् । यी दुई मितबीच एक युवतीको प्रवेश र रुटमा हालेको गाडीलाई लिएर फिल्ममा हुने उतारचढावको कथामा यो फिल्म बनेको छ ।

त्यसैले यो फिल्मको द्वन्द्व भनेकै सौगात र दयाहाङबीच छ । यी दुई कलाकारबीच हुने नोकझोक र टसलको वरिपरि फिल्म घुम्छ । दर्शक होल्ड गर्ने माध्यम नै यही हो ।

फिल्मका निर्देशक अनिल बुढा मगर मित लगाएर मितको साइनोमा बाँधिइसकेपछि फेरि कसरी झगडा सम्भव र त्यसको बैठान कसरी हुन्छ भन्ने कौतुहलता फिल्मले मेटाउने बताउँछन् ।

फिल्म ‘मितज्यू’ जेठ ८ गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्ममा अभिनेताद्वय सौगात मल्ल र दयाहाङ राईसँगै तेरिया मगर मुख्य भूमिकामा छन् । सौगात, दयाहाङ र तेरियासँगै यो चलचित्रमा खड्गबहादुर पुन मगर (खबपु), शिशिर वाङ्देल, पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछानेलगायतको अभिनय रहेको छ । फिल्मका निर्माता जनक घर्ती मगर हुन् ।