द रोलिङ स्टोन्स स्कुलमा विभिन्न देशका नृत्य

काठमाडौं । १३औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०२६ अन्र्तगत राजधानीको भिमसेनस्थानस्थित द रोलिङ स्टोन्स स्कुलमा विभिन्न देशका लोक कलाकारहरुले आफ्नो लोक प्रस्तुति प्रस्तुत गरेर सहभागीलाई रोमाञ्चित बनाएका छन्।

बिहिवार सो विद्यालयको प्राङ्गणमा भएको महोत्सवअन्र्तगत नेपालबाहेक ६ देशका कलकारको लोकनृत्य प्रस्तुत गरेर दर्शकलाई आकर्षित बनाएका थिए। कार्यक्रममा भारत, बोट्सवाना, एस्टोनिया, जर्मनी, दक्षिण अफ्रिकालगायतका देशका कलाकारहरूले आफनो मौलिक लोक संस्कृति, संगीत, नृत्य तथा परम्परागत कला प्रस्तुत गरेका थिए।

यस कार्यक्रमको मुख्य उद्देश्य नेपाली लोकसंगीतको प्रवद्र्धन गर्नुका साथै नयाँ पुस्तालाई देशको समृद्ध सांस्कृतिक सम्पदासँग जोड्नु रहेको थियो। अन्तराष्ट्रिय कलाकारहरुले विभिन्न परम्परागत बाजा बजाउँदै लोकनृन्यहरू प्रस्तुत गरेका थिए। विद्यार्थीहरूले उत्साहपूर्वक कार्यक्रमको आनन्द लिएका थिए र ताली बजाउँदै नृत्यमासाथ दिएका थिए। यसले विद्यालयमा उत्साहपूर्ण र रमाइलो वातावरण सिर्जना गरेको थियो।

कलाकारहरूले आधुनिक समयमा लोकसंगीत संरक्षणको महत्वबारे पनि जानकारी दिए। उनीहरूले विद्यार्थीहरूलाई परम्परागत कला र संस्कृतिप्रति सम्मान र चासो राख्न प्रेरित गरे।

कला र संगीत शिक्षामा विशेष जोड दिने भएकाले यस कार्यक्रमका लागि रोलिङ स्टोन्स स्कूल चयन गरिएको हो। विद्यालयले यस्ता कार्यक्रमहरू नियमित रूपमा आयोजना गर्दै विद्यार्थीहरूको सिर्जनशीलता विकासमा सहयोग पुर्‍याउँदै आएको छ। यस कार्यक्रमले विद्यार्थीहरूलाई नेपालको सांगीतिक परम्परालाई बुझ्न र त्यसप्रति सम्मान बढाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ।

एभरेष्ट नेपाल कल्चरल ग्रुपको मुख्य राष्ट्रिय आयोजना, भएको कार्यक्रममा द रोलिङ स्टोन्स स्कुलमा अध्ययनरत कक्षा ६ का विद्यार्थीले नेवारी नृत्य प्रस्तु गरेर अन्तराष्ट्रिय कलाकारहरुलाई मन्त्रमुग्ध बनाएका थिए। कार्यक्रममा स्कुलकी निर्देशक बिनी श्रेष्ठले विभिन्न देशका कलाकारहरुल्ँर्य खादा र पुष्पगुच्छाद्धारा सम्मान गरेकी थिईन्। त्यसै गरी ती देशका कलाकारहरुले स्कुललाई मायाको चिनो प्रदान गरेका थिए।

दुई दशकदेखि निरन्तर रूपमा नेपाली सांस्कृतिक विविधतालाई विश्वसामु प्रस्तुत गर्दै आएको एभरेष्ट नेपाल कल्चरल ग्रुपले पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार भन्ने मूल नारासहित मेला आयोजना गरेको हो। मेला काठमाडौं संस्करणको वज्र कला कुञ्ज र काठमाडौं महानगरपालिकाको संयुक्त आयोजना र वडा नं। २३ कार्यालयको सह–आयोजनामा चलिरहेको छ।

मेला प्रत्येक दुई वर्षमा नेपालमा आयोजना हुँदै आएको छ। आयोजक संस्थाका अध्यक्ष आरसी (रामचन्द्र) कोइरालाले पछिल्लो समय युवा पुस्तामा मौलिक संस्कृतिप्रति घट्दो चासो चिन्ताजनक भएकाले यही अवस्थालाई मध्यनजर गर्दै लोक संस्कृतिको प्रवद्र्धन र सांस्कृतिक पर्यटन विकासमा योगदान पुर्‍याउने उद्देश्यले मेला आयोजना गरिएको बताए। यस वर्षको मेला काठमाडौंका विभिन्न स्थलसहित पोखरा, ललितपुर, काभ्रेको पाँचखाल र बूढानीलकण्ठ क्षेत्रमा पनि आयोजना गरिएको थियो। विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार स्थलमा समेत कार्यक्रम आयोजना गरिएको थियो भने भोलि शुक्रवार काठमाडौंको बसन्तपुर तथा हनुमानढोकामा सास्कृतिक र्‍याली हुनेछ। दिउसो १ बजे जमलबाट सुरु हुने र्‍याली कमलाछी, असन, जनबहाल, ईन्द्रचोक, मख्खन र हनुमानढोका हुँदै काठमाडौं दरबार स्क्वायर पुगेर समापन हुनेछ। मेलामा बोत्सवाना, इस्टोनिया, इजरायल, जर्मनी, भारत, ताइवान, दक्षिण अफ्रिका र नेपाल लगायतका देशका २ सय ६० भन्दा बढी कलाकारको सहभागिता रहेको छ।