पोखरा । गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान) को आयोजनामा तथा चलचित्र विकास बोर्डको सहकार्यमा पोखरामा सञ्चालित सात दिने अभिनय प्रशिक्षण कार्यशाला सम्पन्न भएको छ।
बैशाख १६ गतेदेखि सुरु भएको कार्यशाला बैशाख २२ गतेसम्म पोखराको नदिपुर–३ स्थित हंशध्वनि थिएटरमा सञ्चालन भएको हो। कार्यशालामा रंगकर्मी तथा अभिनय प्रशिक्षक अनुप बरालले प्रशिक्षण दिएका थिए ।
कार्यशालामा गुरुङ फिल्म क्षेत्रका कलाकार, नयाँ पुस्ताका प्रशिक्षार्थी तथा फिल्मकर्मीहरूको सहभागिता रहेको थियो। अभिनय कला, संवाद अभिव्यक्ति, पात्र निर्माण, रंगमञ्चीय अनुशासन, प्रस्तुति शैली र क्यामेराअगाडि कलाकारले अपनाउनुपर्ने सीपहरूबारे व्यावहारिक प्रशिक्षण दिइएको आयोजकले जनाएको छ।
समापन कार्यक्रममा बोर्डका अध्यक्ष दिनेश डीसीले स्थानीय भाषा, संस्कृति र समुदायमा आधारित फिल्मको विकासका लागि दक्ष जनशक्ति उत्पादन अपरिहार्य रहेको बताए । गुरुङ फिल्मले नेपाली फिल्म क्षेत्रमा मौलिकता, पहिचान र सांस्कृतिक विविधताको महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै उनले यस्ता प्रशिक्षण कार्यक्रमले कलाकारको क्षमता अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
गुरुङ फिल्म एशोसिएसन नेपालका अध्यक्ष राजबहादुर गुरुङ ‘राजेश’ले कार्यशाला सफलतापूर्वक सम्पन्न हुनु गुरुङ फिल्म क्षेत्रका लागि उत्साहजनक उपलब्धि भएको बताए।





