काठमाडौँ । निर्देशक विनयराज पौडेलको डेब्यु निर्देशन रहेको फिल्म ‘अक्षरा’ को छायांकन सुरु भएको छ। सोमबारदेखि काठमाडौँबाट फिल्मको सुटिङ थालेको हो। केही दिनअघि काठमाडौँको गुहेश्वरी मन्दिरमा स्क्रिप्ट पूजा (मुहूर्त) गरिएसँगै फिल्म निर्माण प्रक्रिया अघि बढेको थियो ।
फिल्मको छायांकन तालिका एक महिनाको रहेको छ। निर्देशक पौडेलले सम्पूर्ण तयारी र गृहकार्यपछि मात्र सुटिङ सुरु गरिएको जानकारी दिए। उनले भने, ‘हामीले कथाको मागअनुसार पटकथा र संवादमा पर्याप्त मिहिनेत गरेका छौँ। कलाकारहरूलाई कार्यशाला गराएर मात्र फ्लोरमा ल्याएका हौँ। फिल्मले दर्शकलाई निराश बनाउने छैन।’
क्षित बाबु प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण भइरहेको यस फिल्ममा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह र सृजना अधिकारीको मुख्य अभिनय रहनेछ। फिल्ममा बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गानाको पनि अभिनय रहनेछ।
फिल्मका कार्यकारी निर्माता सुरज थापाकाजी हुन् भने निर्मातामा उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना रहेका छन्। अभिमन्यु निरवीको पटकथा तथा संवाद रहेको यस फिल्ममा सुरेन्द्र रानाको शब्द र कर्णराज गिरीको संगीत रहनेछ।
फिल्मको छायांकन दिपेन बस्न्यातले गरिरहेका छन् भने कोरियोग्राफी रामजी लामिछाने र द्वन्द्व निर्देशन शंकर महर्जनको रहनेछ। फिल्ममा मदन न्यौपानेको श्रृङ्गार, प्रार्थना भट्टराईको भेषभूषा र सुमन काफ्लेको निर्माण व्यवस्थापन रहेको छ।
राकेश दाहालले पोस्टर डिजाइन गरेको यस फिल्मलाई नेशनल सिने ग्रुप नेपालमार्फत दीपक दंगालले वितरण गर्नेछन्। फिल्मको मुख्य सहायक निर्देशकमा दिवस बोहरा र सहायक निर्देशकमा मनोज बोहरा रहेका छन्।





