काठमाडौं । निर्देशक साहारा शर्माको डेव्यु निर्देशकीय फिल्म ‘एक मुठ्ठी बादल’को नयाँ गीत ‘पल्लो घर’ सार्वजनिक भएको छ । गीतमा श्रेया राईको शब्द, संगीत र स्वर छ ।
गीतको भिडियामा फिल्मकी मुख्य अभिनेत्री आँचल शर्मालाई प्रस्तुत गरिएको छ । घरमा विवाहको तयारी भइरहँदा एक युवतीको मनमा आउने अनेक स्मृतिलाई चित्रण गरिएको छ । विवाहको तयारीमा रहेकी ती युवतीका घरसँग जोडीका पुराना सम्झनालाई स्मरण गरिरहेको अनुभूती गीतको अडियोबाट थाहा पाउन सकिन्छ ।
फिल्ममा आँचल शर्मा, निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ । अभिमन्यु दीक्षित निर्माता रहेको फिल्ममा निकुन श्रेष्ठ कार्यकारी निर्माताको रूपमा छन् । निर्माण टोलीमा जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल रहेका छन् ।
फिल्ममा लिन्ह डान गुयेन फानको छायांकन, यशस्वी सभरवालको प्रडक्सन डिजाइन, गौरव मल्लिकको सम्पादन, अग्रणी ठकुरी झाको कला, जानकी कडायतको भेषभूषा डिजाइन, कीर्ति जोशीको मेकअप रहेको छ । फिल्ममा मर्णा जेम्सले सिनेमाको प्रमुख सहायक निर्देशकको रूपमा काम गरेकी छिन् भने उनलाई सहायकको रुपमा शर्मिला आले र मीरा खड्काले सघाएका छन् ।
गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सनको व्यानरमा निर्माण भएको फिल्म नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ ।





