काठमाडौं । फिल्म ‘रोल नं १’को गीत ‘म्याग्दी रुमले’ सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार लोकलयको गीत सार्वजनिक गरेको हो । गीतमा प्रशान्त शिवाकोटी र शान्तिश्री परियारको स्वर रहेको छ । सुष्मा सिग्देलको शब्द रहेको गीतमा संगीत प्रशान्तकै छ ।
प्रशान्त र शान्तिश्रीलाई गायनमा सुरज तामाङ, विकास लिम्बू, दिवेश राई, दीपा सुहाङ, अप्सु योगी र मान्मा बी राईले सघाएका छन् । गीतमा मन परेको मान्छेलाई गरेको प्रेम प्रस्ताव र त्यसमा युवतीले दिएको जवाफ छ । युवकले सँगै जीवन विताउन गर्ने प्रस्ताव र युवतीले हतार नगर्न गरेको आग्रह गीतमा समावेश छ ।
भिडियोमा विनोद न्यौपाने र जुना विश्वकर्मालगायतको अभिनय छ ।भिडियोको कोरियोग्राफी मौसम हिमालीले गरेका छन् । विनोद पौडेलको निर्माण रहेको फिल्म जेठ १५ गते प्रदर्शनमा आउँदै छ । यो चलचित्रले विद्यार्थीको मनोविज्ञानको कथा भन्नेछ । अहिलेको शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने नकारात्मक प्रभाव र त्यसले उसको समग्र जिन्दगीमा पार्ने असरको कथा यो फिल्ममा समेटिएको निर्माण पक्षले बताएको छ ।
जोन योञ्जनको निर्देशनमा तयार भएको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छ । फिल्मको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।
विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको फिल्मको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । यो फिल्ममा महेश दवाडीको लेखन छ । हिमाली जिल्ला म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगहरूमा छायांकन गरिएको यो फिल्मको डीओपी शिवराम श्रेष्ठ रहेका छन् । फिल्म रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरण गर्ने जिम्मा लिएको छ ।





