आदिवासी भूमिमा नेपथ्य गुञ्जन

काठमाडौं । न्युजिल्यान्ड आइपुगेको भोलिपल्टै आदिवासी माहुरे समुदायले नेपथ्य ब्यान्डलाई उनीहरूको परम्परागत ‘पाउहिरी’ शैलीमा स्वागत गरेको थियो । लगत्तै आइतबार बेलुकी अकल्यान्डको ‘ड्यु ड्रप इभेन्ट्स सेन्टर’ मा नेपथ्य प्रस्तुत भयो । त्यहीँ दुई हजारभन्दा बढी दर्शकको भीडमा थिइन् इलिन तुराङ्गा ।

‘आजसम्म मैले सहभागिता जनाएको नेपाली कार्यक्रममध्ये यो कन्सर्ट सर्वोत्कृष्ट रह्यो,’ आठ वर्षदेखि नेपाली तन्नेरीका साथ जीवन बिताउँदै आएकी माहुरे आमाकी सन्तान इलिन भन्दै थिइन्, ‘सङ्गीत मात्र होइन, स्टेजमा गाउने गायकको प्रभावशाली विनम्रता र दर्शकले उनीप्रति दर्साउने सम्मानको संयोजनले मलाई गजब लाग्यो ।’ उनी कन्सर्ट हेर्नकै लागि नेपाली साथीसँग हेमिल्टनदेखि डेढ घण्टा मोटर हाँकेर आइपुगेकी थिइन् ।

मुख्य सहर अकल्यान्डमा आजसम्मकै सर्वाधिक ठूलो नेपाली जमघटमा रूपान्तरित कन्सर्टका लागि बेलुकी नहुँदै दर्शक जुट्न सुरु भइसकेका थिए ।कन्सर्टको पहिलो कोसेलीका रूपमा ‘कोशीको पानी यो जिन्दगानी’ प्रस्तुत भयो । १५ वर्षदेखि न्युजिल्यान्डलाई कर्मथलो बनाउँदै आएका दीपक पाण्डे कन्सर्टकै लागि डेढ घण्टाको हवाईयात्रा गर्दै अर्को सहर क्राइस्टचर्चदेखि आइपुगेका थिए ।

कन्सर्ट हेर्नकै निम्ति सपत्नी आएका न्युजिल्यान्डकै बेङ्कर देवेन्द्र अधिकारीको यस मुलुकमा यो दोस्रो नेपथ्य अनुभव थियो । ‘गाउँदागाउँदै हामी दुवैको घाँटी सुक्यो, नाच्दानाच्दै खुट्टा गले,’ २६ वर्षदेखि यसै मुलुकका बासिन्दा उनी भनिरहेका थिए, ‘नेपथ्य कन्सर्टको विशेषता भनेकै हरेकपटक सोचेभन्दा धेरै रमाइलो हुन्छ ।’

कन्सर्टमा १३ र १६ वर्षका दुई बच्चा र श्रीमतीसहित आएका थिए राज महर्जन । आफ्ना छोराछोरी पनि कन्सर्टमा आफूजत्तिकै रमाएको प्रतिक्रिया उनले दिए । न्युजिल्यान्डस्थित निवर्तमान मानार्थ महावाणिज्यदूत दिनेश खड्काले पनि आफ्ना लागि यो कन्सर्ट जीवनकै महत्त्वपूर्ण अनुभव बन्न पुगेको बताए ।

अकल्यान्ड कन्सर्टका लागि फ्लोर ९उभिएर हेर्ने० टिकट केही दिन अगावै सकिएको थियो भने सीमित सिट मात्र अन्तिम क्षणका लागि बचेको थियो । ‘नेपथ्यलाई यस रूपमा उतार्न हामीले महिनौँको तयारी गरेका थियौँ,’ स्थानीय आयोजक लाखे इभेन्ट्सका रोजन भट्टराईले भने, ‘आफ्नो पहिलो नेपथ्य अनुभव भएकाले दर्शकका रूपमा पनि उत्तिकै आनन्द लिँदा मेहनतको फल चाख्न पाएको अनुभूति भइरहेको छ ।’

मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।