काठमाडौं । फिल्म ‘बाः एक योद्धा’लाई कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्ने भएको छ । निर्माता वसन्त लम्साल र कुवेर सिने डिस्ट्रिब्युसनबीच फिल्मको वितरणलाई लिएर कागजी सम्झौता भएको छ ।
फिल्म र सिने डिस्ट्रिब्युसनका सञ्चालकद्वय आशिष एच तामाङ र प्रदीप धामीबीच सम्झौता भएको हो । हरि लम्सालको लेखन तथा निर्देशन रहेको फिल्म भदौ १९ गतेबाट प्रदर्शनमा आउँदैछ । लम्साल संगीतकार, गायक तथा गीतकार पनि हुन् । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण यो फिल्मको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका हुन् ।
फिल्मका निर्माता वसन्त लम्साल हुन् । लम्सालले यसअघि अभिनेता विपीन कार्कीलाई लिएर चलचित्र ‘कर्मा’ निर्माण गरेका थिए । फिल्ममा अभिनेत्री झरना थापा, सुहाना थापा, दिव्यदेव पन्तलगायत कलाकार मुख्य भूमिकामा छन् । शिवराम श्रेष्ठको छायाकंन रहेको फिल्मको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन् ।





