केकी पहिलो पाइलाको ब्राण्ड एम्बेसडर

काठमाडौं । विश्वभर छरिएका नेपाली बालबालिकाहरुलाई सहज र आधुनिक तरिकाले मौलिक नेपाली भाषामा अभ्यस्त बनाउने उद्देश्यसहित विश्वस्तरीय पाठ्यक्रमसहितको डिजिटल स्कुल ‘पहिलो पाइला’ एप सञ्चालनमा आएको छ । यो डिजिटल स्कुलको ब्रान्ड एम्बेसडरमा अभिनेत्री केकी अधिकारी अनुबन्ध भएकी छिन् ।

राजधानीमा शिक्षाविद् सुशिलभक्त माथेमा, गायिका लोचन भट्टराई, कवि तथा गीतकार आनन्द अधिकारी र अभिनेत्री तथा ब्राण्ड एम्बास्डर केकी अधिकारीले संयुक्त रूपमा उक्त एपको शुभारम्भ गरे । विदेशी भुमिमा जन्मे हुर्केका बालबालिकाहरूलाई नेपाली भाषा र संस्कृतिसँग जोड्न यो डिजिटल स्कुल प्रभावकारी बन्ने अपेक्षा आयोजकले लिएको छ ।

अभिनेत्री केकीले पहिलो पाइला एपको सुभारम्भलाई युग परिवर्तनको क्षण भन्दै नेपाली भाषालाई संवर्धन र प्रवर्धन गर्न यो एपले महत्वपूर्ण भुमिका खेल्ने बताइन् । विदेशी भुमिमा रहने धेरै नेपाली र बालबालिकामा नेपाली मौलिक संस्कृति टाढिँदै गएको अवस्थामा यो अभियानले नेपाली कला, संस्कृति र मौलिक पहिचानसँग जोड्नको लागि सहजिकरण गर्ने विश्वास अधिकारीको छ ।

नेपाली भाषालाई विश्वभर प्रवर्धन गर्ने उद्देश्यका लागि स्कुलको निर्माण गरिएको आयोजक संस्था पहिलो पाइला एजुकेसनले बताएको छ । पहिलो पाइला सञ्चालक मधु न्यौपानेले डिजिटल स्कुलमार्फत बालबालिकाहरुले रोजेको पाठ्यक्रम अनुसार आफ्नो भाषा र संस्कृती सिक्न सक्ने विश्वास व्यक्त गरे ।

शिक्षाविद् माथेमाले भाषा हराए संस्कृति हराउने र संस्कृति हराए अस्तित्व हराउने भन्दै भेषभुषा, संस्कृती, कला र परम्परा केवल बोल्ने, पहिरने र मनाउने बिषयवस्तु मात्र नभएर कुनै पनि राष्ट्र वा समुदायको पहिचान र अस्तित्वको मुख्य आधार रहेको बताए । गायिका लोचन भट्टराईले नेपाली भाषा र संस्कृतीमाथिको बढ्दो अतिक्रमण रोक्न बालबालिकाबाटै यसको सिकाइ सुरू गराउन पहिलो पाइला कोशेढुङ्गा साबित हुने बताइन् ।