चलचित्र कलाकार संघमा उत्तम

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा उत्तम केसी निर्वाचित भएका छन् । आइतबार काठमाडौंमा सम्पन्न २१ औँ महाधिवेशनमा केसी २१६ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका हुन् । कुल ३५६ मत खसेकोमा उनका प्रतिद्वन्द्वी सविन श्रेष्ठले १३२ मत प्राप्त गरे । सविन संघका निवर्तमान महासचिव हुन् ।

त्यस्तै, उपाध्यक्षमा शिवहरी बैरागी र पूजना प्रधान, महासचिवमा सुनील कटुवाल, सचिवमा गोपाल ढकाल (छन्दे), कोषाध्यक्षमा तेजुला खतिवडा र सह–कोषाध्यक्षमा पवन केसी विजयी भए ।

कार्यसमिति सदस्यतर्फ भने १० पदका लागि २८ जनाबीच प्रतिस्पर्धा भएको थियो । त्यसमध्ये दमन रुपाखेती, इन्द्रबहादुर लामा ‘खम्बे’, चन्द्रकला राई ‘लब्ली संगम’, छुल्ठिम गुरुङ, नवीनकुमार श्रेष्ठ, जीवन थापा, सुलेमान शंकर (इकु), रश्मि भट्ट, चन्द्रकला दाहाल र श्रीदेव भट्टराई विजयी भएका छन् । संघको नयाँ कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ ।