उत्तम र निरुताको सारथी पुरा

काठमाडौं ।अभिनेता उत्तम प्रधान र अभिनेत्री निरुता सिंहको मुख्य भूमिका रहेको फिल्म ‘सारथी’को गुर्जा खानी सेड्युलको छायांकन सकिएको छ । गत बैशाख १५ गतेबाट छायांकन सुरु भएको फिल्मको एक महिनामा गुर्जा खानीको सम्पुर्ण छायांकन सकिएको हो ।

निर्देशक कुमार गजुरेलका अनुसार यो फिल्मको अब काठमाडौंको एक दिनको छायांकन बाँकी छ । त्यो पनि केही दिनमा सकेर पोस्ट प्रोडक्सनमा लाग्ने बताए । फिल्मको पोष्ट प्रोडक्सन सकिएसँगै प्रदर्शन मिति घोषणा गरिने निर्देशक गजुरेल बताउँछन् । म्याग्दीको दुर्गम तर प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थानमा छायांकन सम्पन्न गरी निर्माण टिम काठमाडौं फर्किदा उत्साहित देखिएको छ ।

सामाजिक कथावस्तुमा आधारित फिल्मले गुर्जाको मौलिक संस्कृति, परम्परागत जीवनशैली, ढुंगा–माटोले बनेका घरहरू, छन्त्याल तथा दलित समुदायको जनजीवन र गुर्जा–चुरेन हिमालको मनमोहक दृश्यलाई पर्दामा उतारेको छ ।

फिल्ममा उत्तम र निरुतासहित मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, सम्रान्त थापा, मिलन खड्का, रश्मि गुरुङ, कल्पना थापा, आशा विश्वकर्मा, सन्तोष दाहाल, विप्लव खड्का, सागर कंडेल र धिरेन मोक्तान लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

किम्भे प्रोडक्सन तथा धीरज इन्फिनिटी फिल्मस्‌को सहकार्य रहेको सिनेमाका निर्माता तारा थापा ‘किम्भे’ र सौर्यल थापा हुन् । धिरज तामाङ र बेक बहादुर विश्वकर्मा सहनिर्माता तथा प्रदिप रायमाझी र रदिप श्रेष्ठ कार्यकारी निर्माता अनि अमीर केसी लाइन प्रोड्युसर हुन् । यो फिल्मको छायांकन संकल्प भुजेलले गरेका हुन् ।