काठमाडौँ । व्यवसायीद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठको निर्माण रहेको फिल्म ‘हली’को तेस्रो आधिकारिक पोस्टर सार्वजनिक भएको छ। आगामी साउन २२ गतेदेखि रिलिज हुने फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा आफ्नो प्रचारप्रसारलाई तीव्र पारेको हो।
जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मस्को सहकार्यमा निर्माण भएको यस फिल्मको कथा वास्तविक जीवनका घटनाहरूबाट प्रेरित रहेको निर्माण पक्षको दाबी छ ।
सार्वजनिक पोस्टरमा ग्रामीण परिवेश र श्रमजीवी वर्गको कथालाई मुख्य विषयवस्तु बनाइएको देखिन्छ। पोस्टरको मुख्य केन्द्रमा काँधमा हलो बोकेका एक पुरुष र नाम्लो–डोको बोकेर गम्भीर मुद्रामा रहेकी एक महिलाको तस्बिरलाई प्रस्तुत गरिएको छ, जसले परम्परागत नेपाली कृषि जीवन र त्यसभित्रको संघर्षलाई झल्काउँछ। पृष्ठभूमिमा पहाडी भेगको परम्परागत ढुङ्गे घर र एउटी महिलालाई ढोकाबाट चियाइरहेको अवस्थामा देख्न सकिन्छ।
ओम प्रतिकको निर्देशन रहेको फिल्ममा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीका साथै निर्देशक ओम प्रतीक आफैले पनि मुख्य भूमिकामा अभिनय गरेका छन्। फिल्मको एक गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्मालाई देख्न सकिन्छ ।
कार्यकारी निर्माता अर्जुन भुसाल, सह–निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्यूसर लक्ष्मण बज्राचार्य र मुख्य सहायक निर्देशक जीवननाथ गौतम रहेको यस फिल्ममा राहुल राईको छायांकन र रामप्रसाद चौधरी एवं विपिन मल्लको सम्पादन रहेको छ।





