घोडचढी तालिम दिँदै विकास बोर्ड

काठमाडौं । चलचित्र विकास बोर्डले दक्षता अभिवृद्धि वर्ष २०८२ को अवसरमा नेपाली फिल्म क्षेत्रका कलाकार तथा प्राविधिकहरूको सीप विकास गर्ने उद्देश्यले एक हप्ते घोडचढी तालिम सञ्चालन गर्ने भएको छ। उक्त तालिम मिति २४ गतेदेखि सुरु हुनेछ ।

ऐतिहासिक, पौराणिक, एक्शन तथा साहसिक चलचित्र निर्माणमा घोडचढी एक अत्यावश्यक सीपका रूपमा स्थापित हुँदै गइरहेको वर्तमान सन्दर्भमा, कलाकार र स्टन्ट आर्टिस्टलाई सुरक्षित, अनुशासित र व्यावसायिक बनाउने लक्ष्यसहित यो तालिम आयोजना गर्न लागेको बोर्डले जनाएको छ ।

बोर्डले तालिममा नेपाली फिल्म क्षेत्रका विभिन्न अनुभवी कलाकारहरूको सहभागिता रहने जनाएको छ। तालिम अवधिभर व्यावहारिक अभ्यास, सुरक्षा मापदण्ड, घोडासँगको तालमेल, क्यामेरासँगको समन्वय तथा एक्शन दृश्यका लागि आवश्यक आधारभूत सीपमा प्रशिक्षण प्रदान गरिनेछ।

बोर्ड अध्यक्ष दिनेश डिसीले नेपाली फिल्ममा ऐतिहासिक, पौराणिक र एक्शन कथावस्तु बढ्दै गएको सन्दर्भमा घोडचढी जस्तो सीप अब वैकल्पिक नभई अनिवार्य बन्दै गएका कारण कलाकार तथा स्टन्ट आर्टिस्टलाई सुरक्षित, अनुशासित र व्यावसायिक बनाउने उद्देश्यले यो तालिम सुरु गरिएको बताए।