काठमाडौं । बलिउडको सर्वकालिन ब्लकबस्टर फिल्म ‘शोले’का निर्देशक, निर्माता र कलाकार रमेश सिप्पी नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा सहभागी हुने भएका छन् । निफका अध्यक्ष केपी पाठकका अनुसार उनी उद्घाटन कार्यक्रममा विशेष उपस्थिति जनाउन नेपाल आउने पक्का भएको हो ।
पाठकका अनुसार निर्देशक सिप्पीले भारतीय फिल्मको यात्रा, आफ्नो फिल्मी यात्रा र अनुभवबारे नेपाली फिल्म मेकर र दर्शकमाझ सेयर गर्नेछन् ।
पाठकले भने, ‘नेपाली–भारतीय मेकरहरूको सम्बन्ध विस्तार र दिग्गज व्यक्तित्वको अनुभवले भारतीय फिल्म मेकिङको अनभुवले नेपाली मेकरहरूलाई बलिउड बजारबारे पक्कै केही जानकारी मिल्ने भएकाले उहाँलाई निफमा ल्याउने प्रस्ताव गरेका थियौं । उहाँले स्वीकार गर्नुभयो ।’
रमेश सिप्पीले दर्जनभन्दा बढी फिल्म निर्देशन गरेका छन् । पछिल्लो समय उनले निर्देशन गरेको फिल्म ‘सिम्ला मिर्ची’ सन् २०२० मा प्रदर्शनमा आएको थियो । उनी दर्जनौं फिल्मको निर्माता र केही फिल्ममा कलाकार बनेकासमेत छन् ।
सिप्पली आफ्नो निर्देशनमा बनेका फिल्महरूमा शाहरुख खान, अमिताभ बच्चन, सञ्जय दत्त, ज्याक्की श्रफ, मिथुन चक्रवर्ती, ऋषि कपुर, दिलिप कपुर, शशी कपुर, धर्मेन्द्र र राजेश खन्नालगयातका बलिउड स्टारलाई अभिनय गराएका छन् ।
नवौं संस्करणको निफ चैत १९ बाट काठमाडौं हुँदैछ । आयोजकका अनुसार निफमा ४० देशका ८८ फिल्म देखाइनुका साथै फरक–फरक विषयमा १० वटा अन्तर्क्रियात्मक कार्यक्रमहरू गरिनेछ ।




