काठमाडौं । संगीतकार तथा गायक हरि लम्सालको डेब्यू निर्देशकीय फिल्म ‘बाःएक योद्धा’ को मुहुर्त गरिएको छ । उनकै लेखन तथा निर्देशनमा तयार हुने फिल्मको सोमबारबाट मुहुर्तसँगै छायांकन सुरु गरिएको छ ।
काठमाडौंको पशुपतिनाथ मन्दिरमा फिल्मको निर्माण पक्षको उपस्थितिमा धार्मिक विधिपूर्वक पूजाआजा गर्दै निर्माण कार्यको थालनी गरिएको हो ।आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा फिल्म निर्माण हुन लागेको हो ।
निर्देशक लम्सालले नेपाली परिवारमा बुवाको महत्व, उनले सन्तानको भविष्यका लागि गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरूलाई एउटा ‘योद्धा’को रूपमा चित्रण गर्ने बताए । ‘विशेषगरी ग्रामीण तथा सहरी समाजमा एउटा बाबुले आफ्नो काँधमा बोक्ने जिम्मेवारीको कथालाई यो फिल्मले पर्दामा उतार्नेछ’, उनले भने ।
फिल्ममा शिवराम श्रेष्ठको छायाकंन रहने छ । फिल्मका निर्माता वसन्त लम्साल हुन् । गायक तथा सर्जक समेत रहेका लम्सालले यस अघि अभिनेता विपिन कार्कीलाई लिएर फिल्म ‘कर्मा निर्माण गरेका थिए ।
फिल्मको मुख्य सहायक निर्देशकमा तारा नाथ न्यौपाने रहेका छन् । फिल्ममा अभिनय गर्ने कलाकारको नाम निर्माण पक्षले खुलाएको छैन ।




